
नवलपुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि धौवादी फलाम खानीको उत्खनन कार्य प्रारम्भ गर्ने बताइएको छ । त्यस्तै, गैँडाकोटमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरिनेछ । कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–बागलुङ खण्ड र बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ६० किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिने बजेटमा जनाइएको छ ।
देवघाट–त्रिवेणीधाम संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण नारायणगढ–बुटवल सडकखण्डको विस्तार तथा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । नारायणी नदीमा सिग्नेचर पुल निर्माण, नवलपुरको जिल्ला सदरमुकाम निर्माण कार्यलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।
बजेटमा नारायणी लगायतका ठूला सिँचाइ प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मत–सम्भार तथा पुनस्र्थापनाका लागि रकम विनियोजन गरिएको छ । नारायणीसहितका देशका प्रमुख नदीहरुमा जोखिमयुक्त नदी तथा पहिरो नियन्त्रण तथा व्यवस्थापन गर्न एक अर्ब ६५ करोड विनियोजन गरेको उहाँको भनाइ छ । नारायणी नदी नियन्त्रण गरी किनारको जग्गामा आकर्षण उद्यान निर्माण र सौन्दर्यीकरण गर्न रकम विनियोजन छ ।





