मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीमा नआएको चिनियाँ हेलेस्टन र आउने लागेको मुर्गा राँगो !

गण्डकीमा नआएको चिनियाँ हेलेस्टन र आउने लागेको मुर्गा राँगो !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८०, मंगलबार

पोखरा/ गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले २०७५ सालमै प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने घोषणामात्र गरेन्, चीनबाट उन्नत जातका हेलस्टेन गाई भित्र्याउने तयारी थाल्यो । नीति तथा कार्यक्रममा समेटिएको योजना अनुरुप निजी कम्पनी गण्डकी काउ फार्म एण्ड रिसर्च सेण्टरसँग सम्झौता भयो । ११ करोेड रुपैयाँ विनियोजन भयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा स्थापना हुने गाई फार्ममा ४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिइने घोषणा पनि भयो । तर, एकातिर निजी कम्पनीसँग गरिएको सम्झौता र मोडल विवादित बन्यो भने अर्कोतर्फ गण्डकीसहित बागमती र मधेश प्रदेशमा सुरु गरिने भनिएको यो परियोजनालाई संघ सरकारले स्वीकृति नै दिएन । चिनियाँ कम्पनी चाइना एकेडेमी अफ एग्रिकल्चर मोर्डनाइजेसन साइन्स (सीएएएमएस) सँग गरिएको सम्झौता अनुसार गण्डकीमा ४ हजार गाई ल्याउने योजना त्यत्तिकै तुहियो । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा छुट्याइएको १२ करोड पनि ‘फ्रिज’ भयो ।

२०७८/०७९ को नीति तथा कार्यक्रममा भनिएको थियो,‘गाईपालनमा आधुनिक प्रविधि भित्र्याइ प्रदेशलाई दूधमा आत्मनिर्भर बनाइने छ । उच्च उत्पादन क्षमता भएका उन्नत नश्लका गाईभैंसीको संख्यात्मक तथा गुणात्मक बढोत्तरी गर्न पशु नश्ल सुधारसम्बन्धी कार्यक्रम तथा पाडा बाच्छी हुर्काउन प्रोत्साहित गरिने छ ।’

नीति तथा कार्यक्रमको बुँदा नम्बर ७४ मा स्थानीय नश्लका पशुपंक्षीको आनुवंशिक स्रोतको संरक्षण गरिने प्रतिवद्धतासहित भनियो,‘मासुको लागि लिमी र दूधको लागि पार्कोटे भैंसी संरक्षण र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने छ ।’तर, लिमी र पार्कोटे संरक्षण कार्यक्रम कार्यान्वयनमै आएन ।

नेपाल सरकारको कृषि मन्त्रालयले प्रकाशित गरेको नेपालमा व्यावसायिक पशुपालन तथा कुखुरापालन विधि भन्ने पुस्तकका अनुसार लिमे, पारकोटे र गड्डी स्थानीय जातका भैंसीहरु हुन् । पहाडी क्षेत्रमा दूध उत्पादनको लागि सुहाउँदो लिमेको शारीरिक तौल करिब ४सय किलोग्रामसम्म हुन्छ । घाँटीमा हुने हसिया आकारको सेतो दाग लिमेको जातीय विशेषता हो । ६१ महिनामा ब्याउने यो भैँसीमा बेत अन्तराल २१ महिना, दैनिक दूध उत्पादन २.५ लिटर र दूध दिने अवधि ३०५ दिन रहेको छ । पारकोटे चाहिँ कालो रंगको हुन्छ र यस्को सिंग निकै लामा र हसिया आकारको हुन्छन् । यो जातको भैँसीमा पहिलो पटक ब्याउने उमेर ६६ महिना, बेत अन्तराल २० महिना, दैनिक दूध उत्पादन ३.५ लि. र दूध दिने अवधि ३०५ दिन हुन्छ । गड्डीस्थानीय जातको भन्दा ठूलो हुन्छ भने दूध बढी दिन्छ । नेपालमा राँगा– भैंसीको मासु खाइन्छ । सरकारले त्यही तथ्यमा टेकेर लिमी जातको भैंसीलाई मासुमा उपयोग गर्ने नीति लिएको हो ।

पहाडी भेगमा अहिले पनि दूधको लागि स्थानीय जातका भैंसीहरु नै रोजिन्छ । भीरपाखामा सजिलै हिँड्ने,चर्न मन पराउने भएकाले स्थानीय जातहरु किसानको रोजाइमा परेका हुन् । तर, पछिल्लो समय समथर क्षेत्रमा दूध उत्पादनमा अब्बल मानिएका म्ुार्रा, निलिरवि, जफरावादी, सुर्ति, मैसाना, नागपुरी, गोदावरी आदि जातका भैंसीहरु पाल्न सुरु गरिएको छ । निलिरविको उत्पति पाकिस्तानमा भएको हो भने अन्य जातको उत्पति भारतमा भएको हो ।

यीमध्ये प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणसँग जोडिएको मुर्रा भैँसीको उत्पत्ति भारतको हरियाणा राज्य र आसपासको क्षेत्रमा भएको मानिन्छ । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसीको राँगा उपलब्ध गराउने वचन दिएको छ । प्रधानमन्त्रीले राँगो ल्याए भन्दै कटाक्ष गर्नेहरु पनि देखिएकै छन् । तर, प्रचण्डको भारत भ्रमणमा प्राप्त राँगाहरु नेपालको लागि महत्वपूर्ण भएको विज्ञहरुले बताएका छन् । दूधको उत्पादन वृद्धि गर्न मुर्रा भैंसीको आयात धेरै वर्ष पहिलेदेखि गरिएको र नेपाल आउने अधिकांश मुर्रा वर्णशंकर रहेको अध्ययनहरुले देखाएका छन् । ‘प्रजनन् को लागि मुर्रा जातको रागाें बाट प्राकृतिक गर्भाधान वा मुर्रा जातको रांगोको सिमेन प्रयोग गरी कृतिम गर्भाधानको विधिबाट गरिन्छ,’कृषि मन्त्रालयले प्रकाशन गरेको पुस्तकमा भनिएको छ,‘ नेपालमा मुर्रा जातको भैंसीको दूध उत्पादन प्रति वेत १५०० रहेकोछ । वयस्क भैँसीको सरदर तौल साढे ४ सयदेखि देखि ५ सय र र वयस्क रांगोको ५३० देखि ५७५ केजी हुन्छ ।’

त्यसो त, नेपालमा मुर्रा राँगा नभएका भने हैनन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालमै अहिले १२ वटा मुर्रा जातका राँगाहरु रहेका छन् । कार्यालय प्रमुख डा. जनदीश पाण्डेयका अनुसार यहाँ भएका राँगाहरु सोझै भारतबाट ल्याइएका चाहिँ हैनन् । भारतले यसअघि ती राँगाहरु दिन आनाकानी गर्दै आएको थियो । ‘हामीसँग भएका राँगाहरु सिमेन ल्याएर तयार पारिएका हुन्, कतिपय अवस्थामा हामीले भ्रुण पनि ल्याएका छौँ,’उनले भने,‘ यहाँ भएका राँगाहरुबाट उत्पादित बीर्य अहिले किसानलाई वितरण हुँदै आएको छ ।’ पोखरा, लाहान र नेपालगञ्जमा रहेका पशु प्रजनन केन्द्रले वार्षिक ८ लाख ५० हजारको हाराहारीमा सिमेन उत्पादन गर्दै अइरहेको उनले बताए । उनका अनुसार पोखरामा ५ लाख, लाहानमा ३ लाख नेपालगञ्जले ५० हजार सिमेन उत्पादन गर्छ ।

उत्पादित बीर्य किसानहरुलाई वितरण हुन्छ । ‘बीर्यलाई कृतिम तरिकाबाट पशुको गर्भाशयसम्म पु¥याइन्छ र नयाँ पाडापाडी र बाच्छाबाच्छी उत्पादन गरिन्छ,’उनले भने । कार्यालय प्रमुख पाण्डेका अनुसार शुद्ध बीर्य उत्पादन आफैंमा जटिल प्रक्रिया हो । प्रजनन विधि सजिलो हुँदैन । प्रजनन केन्द्रमा भएका राँगाहरुबाट कृतिम तरिकाले नै बीर्य संकलन गर्नुपर्छ । ‘आर्टिफिसीयल भेजाइना प्रयोग गरेर, नक्कली खेलौनामाथि राँगालाई चढाएर बीर्य संकलन गरिन्छ । प्रजनन केन्द्रमा हुर्केको राँगोले सुरुमै यो प्रक्रिया बुझ्दैन । ठूला राँगाहरु हेरेर उसले सिक्छ । मैले कृतिम योनीमा बीऊ दिनुपर्ने रहेछ भन्ने बुझ्छ । प्रजनन सजिलो हैन नि,’उनले भने, विहे गर्ने बेला कुलको छोरी भनेकोजस्तै हामी बीर्यको गुणस्तर मापन गर्छौँ । शुद्ध र उन्नत जातको बीर्य निकाल्छौँ ।’ उनका अनुसार उन्नत जातको राँगाको अण्डकोष झुण्डिएको हुनुपर्छ । एउटा सानो र अर्को ठूलो हुनुहुँदैन । सम्भोगको बेला लिङ्ग स्वाट्ट निस्कने हुनुपर्छ । गाईभैँसीहरूमध्ये धेरै दूध दिने पशुहरू छनोट गर्ने र त्यस्ता पशुबाट जन्मिएका बाच्छाबाच्छीहरूलाई मात्र प्रजननको लागि प्रयोग गरिन्छ ।

अहिले पोखरामा पालिएका १२ वटा राँगामध्ये सबैले बीर्य दिँदैनन् । साना पाडाहरुले सम्भोग नै सिकेका छैनन् । ‘ यो प्राकृतिक सम्भोग र गर्भाधान हैन । राँगोलाई निश्चित समय हुर्काउँछौं । तालिममा पठाउँछौं । त्यसपछि सिमेन संकलन गरिन्छ । संकलित सिमेन निश्चित स्टोर हुँदै वितरण प्रणालीमा जान्छ ।’

अहिले नेपालमा गाई ७२ लाख गाई र ५२ लाखको हाराहारीमा भैंसीपालन भइरहेको आँकडा छ । ती सबै उन्नत जातका छैनन् । भएका पशुलाई उन्नत जातको बीर्य प्रयोग गरी नश्ल सुधार थालिएको उनले बताए । ‘यो आफैंमा विज्ञान हो । बीऊ राख्नासाथ गर्भ हुन्छ भन्ने हुँदैन । हामीसँग यहाँ ५० वटा साँढे र १२ राँगा छन् । २२ साँढे हुर्कंदै छन,्’कार्यालय प्रमुख पाण्डेयले भने,‘ हामीले भारतसँग पहिल्यैदेखि प्रजननको लागि राँगा माग्दै आएका थियौं, किनेर नपाइने कुरा भारतले प्रधानमन्त्रीज्यूको भ्रमणको बेला दिन्छु भन्यो । मान्छेले कुरा बुझेनन्, यो त जिन हो नि त । प्रजननको लागि जिनको विशेष महत्व हुन्छ । कोरियाले कोरली बाच्छी र बहर दिएको छ । पुसमा आएको छ । अमेरिकाबाट साँढे आयात भएको हो । बस्तुगत अनुदान हो भारतले दिने । मान्छे मूल्यको पछि परिरहेका छन् । यी अमूल्य हुन् । डेरी सेक्टरमा कायापलट गर्ने भनेर दिएको हो । हामी त कहिले स्वागत गर्न पाउँला भनेर कुरिरहेका छौँ ।’

उनका अनुसार भारतले दिने घोषणा गरे पनि राँगा आउन भने समय लाग्नेछ । ‘हाम्रो लागि उपयुक्त छन् भने ल्याउने हो । प्राविधिक टोली जान्छ हेर्छ, ट्यागिङ हुन्छ । राख्ने भनेको पोखरासहित तीन ठाउँमा हो,’उनले भने,‘त्यहाँबाट ल्याइने राँगाहरुलाई भैंसीले राँगो खोजेको बेला लगाउने हैन,बीऊ उत्पादन गर्ने हो ।’

पशु प्रजनन कार्यालय पोखराका पशु विकास अधिकृत डा. भाजुराम महतोका अनुसार बीर्य उत्पादनको लागि लामो मिहिनेत र धैर्य चाहिन्छ । अमेरिकालगायतका देशहरुले डेढ सय वर्षको अनुसन्धानबाट दूध र मासुको उत्पादकत्व बढाएको दृष्टान्त दिँदै उनले भने,‘ नेपालमा सन् २००८ बाट मात्र रेकर्ड राखिएको हो । नेपालमा अनुसन्धान गर्न अझै टाइम लाग्छ । नेपापलमा लोकल भैंसीको उत्पादकत्व राम्रो छैन ।

भारतबाट अहिले ल्याउने राँगाबाट पक्कै उत्पादकत्व बढ्छ । सिमेन संकलन गरेर किसानकहाँ पठाउँदा पाडीहरु बढ्दै जान्छन् । आयात प्रतिस्थापना गर्न यो भारतले दिएको ठूलो उपहार सावित हुन्छ ।’
नेपाल लाइभस्टक सेक्टर इनोभेसन परिेयोजनाका सूचना अधिकारी डा. प्रकाश अधिकारी पनि भारतबाट आउने राँगाले नेपालको पशुपालनलाई ठूलो योगदान गर्ने धारणा राख्छन् । ‘कसैले लामो समय अनुसन्धान गरेर पत्ता लगाएको कुरा मागेर पाइने हैन,हामीले माग्दा पनि भारतबाट नआएको हो, अहिले आउँदैछ, यो हाम्रो लागि अमूल्य उपहार हुन्छ,’उनले भने,‘ मान्छेले प्रधानमन्त्रीको भ्रमण र मूल्यसँग जोडेर कुरा गरिरहेका छन्,कुरा नबुझेर त्यसो भएको हो ।’

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->