बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नारायणी नदीमा जथाभावी उत्खनन्

नारायणी नदीमा जथाभावी उत्खनन्

जिसस नवलपुरले लगायो रोक ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८०, मंगलबार

नवलपुर/ नारायणी नदीमा जथाभावी र मापदण्ड विपरीत उत्खनन् भएको पाइएको छ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणीको वगरमा जिल्ला समन्वय समितिको अगुवाइमा सोमबार भएको अनुगमनमा अस्तब्यस्त र अव्यवस्थित रुपमा उत्खनन् भएको पाइएको हो ।

उत्खननमा पालना गर्नुपर्ने कानूनी प्रावधान र सर्तसमेत पालना नगरेको पाईएपछि समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले तत्काललाई उत्खनन् कार्य रोक्न निर्देशन दिएका छन् ।
पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएका बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र नगरपालिकाले व्यक्ति–व्यक्तिलाई नदीमा मेसिन प्रयोग गर्न दिएको पाइएपछि उत्खननमा रोक लगाइएको उनको भनाइ छ ।

नारायणगढ बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इञ्जीनीयर टंकप्रसाद भुसालले बताए ।

गैँडाकोट नगरपालिका–९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन भएको नदीजन्य पदार्थ नारायणगढ बुटवल सडक विस्तारसँगै, तटबन्धन योजना, गैंडाकोटका थुप्रै वडागत बाटोमा प्रयोग गर्ने गरी नगरपालिकाले तोकेको राजश्व संकलन गरेर निकासी भइरहेको बताए ।

नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्न पाउने भए पनि नारायणी नदीको पानीको सतहबाटै नदीजन्य पदार्थ हेभी इक्युप्मेण्टले झिकेका छन् ।
अस्तव्यस्त तवरबाट भएको उत्खनन्का कारण नजिकिदै गरेको वर्षायाममा आउन सक्ने बाढीका कारण गैंडाकोटको जयश्री, हनुमान मन्दिर क्षेत्र आसपासदेखि दक्षिणी क्षेत्र डुवान, कटानको जोखिममा पर्न सक्ने भन्दै स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन् ।

अनुगमनमा जिल्ला समन्वय समितिका पदाधिकारी, कर्मचारी, जिल्ला प्रशासनका कर्मचारी प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि,वन डिभिजन कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, पत्रकार प्रतिनिधिलगायतको टोलीले अनुगमन गरेका थियो । पटक–पटक गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, इन्जीनियर समेतलाई अनुगमनमा उपस्थित हुन आग्रह गरे पनि विपत्सम्बन्धी बैठक भएकाले उपस्थित हुन नसकेको जवाफ पाएपछि तत्काललाई उत्खनन् कार्य रोक्न बाध्य भएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->