नवलपुर/शनिवार नवलपुरको सदरमुकाम कावासोतीस्थित विष्णुनगरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विरुवा रोपे। नवौं चुरे संरक्षण दिवसको अवसरमा विष्णुनगर सामुदायिक बन क्षेत्रमा “चुरेको माटो चुरेलाई सफा पानी सवैलाई“ भन्ने नाराका साथ आयोजित वृहत् वृक्षरोपण समारोहमा उपराष्ट्रपति स्वयं विरुवा रोप्न सरिक भए । तर, कावासोती नगरपालिकाका नगर प्रमुख वाहेक जिल्ला का सबै पालिकाका नगर प्रमुख एवं उपप्रमुखको मध्यविन्दु नगरपालिकाको प्रशासनिक भवनमा वसेको अन्तरपालिका स्तरीय बैठकले चुरे संरक्षित क्षेत्रवाट यो भुभाग हटाउन माग गर्ने निर्णय गरे ।
उपराष्ट्रपति सहितको एक टोली हेलिकप्टर वाट ओर्लदा कार्यक्रममा स्वागत गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री महेन्द्रध्वज जिसी, प्रदेश सांसद रोशन बहादुर गाहा, विन्दु पहाडी, कावासोती नगर पालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा सहित जिल्लास्थित संघ तथा प्रदेश अन्तरगतका कार्यालयका प्रमुख प्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका अधिकारीहरु लगायत उपस्थित थिए । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो समेतको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले चुरे क्षेत्रको संरक्षणमा, चुनौती थपिएको वताए । उनले जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनासका कारण संरक्षणमा चुनौती थपिएको स्पष्ट पारे। उनले जलवायु परिवर्तन र वातावरणीय प्रभाव सन्तुलन कायम गर्न चुरे क्षेत्रको संरक्षणमा जनसहभागिताको अपेक्षा गरे ।
कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले यहाँ पर्यावरणको समस्या, जैविक विविधताको समस्या र संरक्षणको समस्यासँगै मानव बस्तीको सुरक्षाको चुनौती उत्तिकै रहेको सुनाए । कावासोतीका तीन वटा खोलाले पुर्याउने क्षतितर्फ ध्यानाकर्षण गराए । २८ किलोमिटरको केरूङ्गे, १० किलोमिटरको पत्थर र ८ किलोमिटरको लोकाहा खोलाको तटीय क्षेत्रका वस्तीहरू जोखिममा रहेका बताए । उनले खोलाको सतह उच्च हुदा बस्तीहरू जोखिम मा परेको अर्थ्याए । अहिले खोलाहरूको सतह मानव वस्तीभन्दा तिन फिट मात्रै होचो रहेकोले मानव वस्ती संरक्षणमा गुरुयोजना सहित तटवन्धको आवश्यकता र खाँचोमा चासो पुर्याउन राष्ट्रपति चुरे संरक्षण समिति जिम्मेवार वन्न आग्रह गरे ।
कावासोती नगरपालिका वडा नं. ६ विष्णुनगर सामुदायिक वन क्षेत्रको करीव ११ हेक्टर क्षेत्रमा विभिन्न जातका १० हजार विरुवा लगाउने लक्ष्य राखिएको यस क्षेत्रमा दिवसका अवसरमा शुभारम्भ सन्देश दिनका लागि करीब २ कट्ठा क्षेत्रफलमा मात्रै वर, पिपल, समी, आँप, लिची, कटहर, हर्रो, बर्रो जातका करीब ३ दर्जन विरुवा रोपिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका कार्यक्रम कार्यान्वयन इकाई भरतपुर चितवनका श्याम लोप्चनले जानकारी दिए ।
उता, नवलपुरका स्थानीय तहहरुले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट जिल्लाका स्थानीय तहहरुलाई हटाउन माग गरेका छन् ।
शनिबार मध्यविन्दु नगरपालिकामा भएको जिल्लाका विभिन्न स्थानीय तहका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरुको बैठकले स्थानीय बिकास निर्माण, विपद् व्यस्थापन, आन्तरिक श्रोत बृद्धिमा अवरोध भएको भन्दै राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राखिएका स्थानीय तहहरु हटाउन माग गरेका हुन्।
“नवलपुरका स्थानीय तहहरुमा चुरै क्षेत्र नै छैन भन्ने हाम्रो भनाई हो । अहिले चुरे पहाड भनिएको क्षेत्र महाभारत पहाड श्रंखला हो।”, मध्यविन्दु नगरपालिका नगरप्रमुख भिमलाल अधिकारीले भने , “यहाँ खोलाहरुको सतह बस्ती भन्दा उच्च भइसक्यो । नदीजन्य पदार्थ हटाउनुपर्नेछ । हुदै नभएको चुरे भनेर अवरोध हुन्छ ।”
जिल्लाका सबै स्थानीय तहहरुको आन्तरिक श्रोतको मुख्य श्रोतको रुपमा नदीजन्य पदार्थको बिक्रि वितरण रहेको छ । तर, गण्डकी प्रदेशले तय गरेको उच्च रोयल्टी, चुरे संरक्षणको नाममा हुने अवरोधले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बैठकमा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु धारणा राखेका थिए । बैठकले गण्डकी प्रदेश सरकारले तय गरेको नदीजन्य पदार्थको राजश्व मुल्यमा पुर्नबिचार गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
जिल्लाको चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएका स्थानीय तहहरुमा मध्यवर्ती क्षेत्रको कारण स्थानीय समुदायको दैनिक जीवनयापनसंगै नगरबाट हुने विकास निर्माणको काममा समेत अवरोध हुने अवस्था सृजना भएको भन्दै नवलपुरबाट मध्यवर्ती क्षेत्र हटाउनु पर्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। “मध्यवर्ती बन्न भन्दा पहिले बनेको संरचना अहिले हटाउनु भन्छ । एउटा व्यवसाय दर्ता गर्न चितवन पुग्नुपर्छ, बाली नष्टहुदाँ पनि क्षतिपूर्ती पाउने अवस्था छैन सधैं त्रासमा छन् स्थानीय,” उनले भने– “स्थापना हुदाँ जुन आशा स्थानीयलाई दिएको थियो त्यो भएन अहिले अवरोध मात्रै हुन्छ । दुम्कीबास त्रिवेणी सडक निर्माण गर्न पनि निकुञ्ज नै बाधक बन्यो ।”
गैंडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट नगरपालिकालाई मध्यवर्ती क्षेत्रबाट हटाउनका लागि निर्णय समेत भइसकेको भन्दै मध्यवर्ती स्थानीय स्तरमा बिकास निर्माणमा बाधक बनेको बताए ।
बैठकमा हुप्सकोट गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका महासंघ केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तिन तहको सरकारको साझा अधिकार क्षेत्र भित्र रहेका अधिकारहरु कार्यान्वयनमा संघ र प्रदेश सरकार उदासिन बनेको भन्दै त्यसको लागि आवश्यक दवाव दिनुपर्ने अवस्था आएको बताईन् । उनले संघिय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान घटाउने र सशर्त तर्फको कार्यक्रमहरु बढाउने कार्यले स्थानीय सरकारलाई कमजोर बनाउने भन्दै
यस सम्बन्धमा गाउँपालिका महासंघ र नगरपालिका महासंघले आवश्यक छलफलहरु समेत गर्ने चरणमा रहेका बैठकमा जानकारी गराईन् ।
बैठकले राष्ट्रिय भूमि आयोग मार्फत भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई प्रदान हुने जग्गा १० वर्ष सम्म किनबेच गर्न नपाईने व्यवस्था र तोकिएको राजश्व दरबारे पुर्नबिचार गर्न सम्बन्धित आयोग र मन्त्रालयलाई ध्यानाकर्षण गराउने समेत निर्णय गरेको देवचुली नगरपालिका नगर प्रमुख हरी न्यौपानेले बताए ।
बैठकमा नवलपुर जिल्ला भित्रका विभिन्न स्थानीय तहहरुको सिकाई आदानप्रदान संगै अन्तरपालिका समन्वयलाई प्रभावकारी रुपमा अगाडी बढाउने विषयमा छलफल भएको बौदीकालि गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन, अन्तरपालिका बिकास निर्माण, विपद् व्यवस्थापनमा सहकार्य, फोहोरमैला व्यवस्थापनको विषयमा साझा पहल गर्ने निर्णय भएको छ।
नवलपुरमा निर्माणको चरणमा रहेका दुम्कीबास त्रिवेणी सडक, हुलाकी राजमार्ग र बिस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम तिब्रगतिमा अगाडी बढाउन अनुरोध समेत गरेको छ । शनिबार भएको बैठकमा नारायणी नदी तटबन्धन र सम्बन्धित कार्यालय जिल्लामा स्थापनाको माग, स्थानीय तहहरुले दिने स्थानीय बिदामा एकरुपता, संघ र प्रदेशबाट कार्यान्वयन हुने योजनाको सम्बन्धमा हुने समन्वय, जनप्रतिनिधिहरुको सुरक्षा व्यवस्थापन लगायतको विषयमा निर्णय गरेको बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले बताए ।
बैठकले अन्तरपालिका बैठकलाई नियमित गर्ने र आगामी बैठक देवचुली नगरपालिकामा साउन महिनामा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
आफ्नै पालिकामा उपराष्ट्रपति सहितका विशिष्ट पाहुनाहरूको उपस्थिति सहितको समारोहमा आफू स्वागतका लागि रहनुपरेकाले अन्तरपालिका बैठकमा सहभागी हुन नसके पनि यहाँका समस्याका बारेमा ध्यानाकर्षण गराएको कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णुप्रसाद भुसाल बताउँछन् ।





