पोखरा/ कांग्रेसका प्रदेशसभा सदस्यहरुले गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको राजीनामा मागेका छन ।
माओवादीका दुई मन्त्रीमध्ये सामाजिक विकासमन्त्री सिम्खडाले बजेटमा विभेद गरेको आरोपसहित प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले राजीनामा मागेका हुन । सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको थियो ।
बजेट वक्तव्यको छलफल सकिएपछि मात्रै प्रदेशसभा सदस्यहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका पाए । मंगलबारदेखि प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु हुँदैछ ।
त्यसकै पूर्वसन्ध्यामा सोमबार कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा नै कांग्रेसका सांसदहरुले सामाजिक विकासमन्त्रीलाई हटाउनुपर्ने माग मुख्यमन्त्री पाण्डेसमक्ष राखेका हुन ।
यही १७ गते सामाजिक विकास मन्त्रालयमाथिको छलफल हुने कार्यसूची प्रदेशसभाको छ । उक्त बैठकमा नै राजीनामा माग्ने चेतावनी समेत कांग्रेसका सांसदहरुले दिएका छन ।
‘मन्त्रीज्यूहरुको व्यवहारको कारण नै अहिलेको अवस्था आएको हो । सामाजिक विकास मन्त्रालयले चाहिँ एकदमै हेला ग¥यो हामीलाई । मागेको योजनामध्ये जम्मा चारवटा परेका छन । माओवादीका मन्त्रीज्यूले चाहिँ खै किन त्यस्तो गर्नुभयो ? मेरै जिल्लाको अर्को निर्वाचन क्षेत्रमा त भौतिक पूर्वाधारको एउटा पनि योजना छैन,’ एक सांसदले भने,‘मैले मन्त्रीलाई नै भेटेर पनि भनेको हुँ । म १७ गते मात्रै प्रदेशसभामा बोल्छु । त्यो दिन सामाजिक विकास मन्त्रालयअन्तर्गतको छलफल हुन्छ । सबैको चित्त बुझाउन सकिँदैन तर के हाम्रो जिल्लामा चाहिँ जनता नै छैनन ?’
उनले आफ्नो क्षेत्रमा चारवटा भएपनि योजना परेको तर अर्को निर्वाचन क्षेत्रमा भने एउटा पनि योजना नपर्नुमा मन्त्रीको नियत नै खराब रहेको आरोप लगाए । फरक कामको लागि मन्त्री सिम्खडालाई भेट्न जाँदा उनका श्रीमानले नै रोकेको समेत उनले बताए ।उनले आफू ढोका खोलेर भित्र जाँदा योजनाको लिस्टिङ पो भइरहेको देखेको पनि जिकिर गरे ।
मन्त्रीहरुकै कारण विकास र योजनाको लागि मन्त्री नै बन्नुपर्छ भन्ने भाष्य निर्माण भएको उनले बताए ।
अहिलेको बजेटमा मन्त्रीका जिल्लामा मात्र योजना परेको भन्दै संसदीय दलको बैठकमा कांग्रेसकै मन्त्रीको पनि चर्को आलोचना भएको थियो । झन्डै ६ घण्टा चलेको दलको बैठकमा उर्जा जलस्रोत मन्त्री सरस्वती अर्याल तिवारीको कार्यशैलीमाथि समेत आलोचना भएको थियो ।
बैठकमा सहभागी अर्का प्रदेशसभा सदस्यले समग्र बजेट र योजनामाथिको छलफल गर्दा सामाजिक विकास मन्त्रालयमाथि धेरै प्रश्न उठेको बताए । ‘हामीले जुन प्राथमिकता तोकेर नीति तथा कार्यक्रम ल्याएका थियौँ, त्यसको मर्म अनुसारका योजना आए कि आएनन भनेर समीक्षा ग¥यौँ, प्रश्न उठायौँ । सामाजिक विकास मन्त्रालयमा सबैभन्दा बढी कमजोरी छ । हामीले सामाजिक विकासमन्त्रीको राजीनामा मागेका छौँ,’ ती सांसदले भने ।
नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता तथा सिद्धान्तलाई मिचेर सामाजिक विकास मन्त्री एकलौटी तरिकाले अगाडि बढेको उनीहरुको ठहर छ । आफ्नो निर्वाचन क्षेत्रमा करोडौँ बजेट विनियोजन हुँदा ११ जिल्लाका अन्य क्षेत्रमा नै एकादुई मात्रै योजना परेका छन भने कुनै क्षेत्रमा त योजना र बजेट नै शून्य छ ।
सत्ताघटक दल भएतापनि मन्त्री बनेको दुई महिनामै कांग्रेसका सांसदहरुले कार्यशैलीप्रति विरोध जनाउँदै राजीनामा मागेका हुन ।
त्यसबाहेक कांग्रेसबाट नै मन्त्री बनेकाहरुले पनि आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा मात्रै बजेट विनियोजन गरेको भन्दै सांसदहरु आफ्नै दलका मन्त्रीप्रति पनि रोष प्रकट गरेका छन ।‘समग्र बजेट र योजनाको छलफल गर्दा सरकारले लिएको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता अनुसारका कार्यक्रम आएका छन कि छैनन भन्ने विषयमा कुराकानी भएको हो,’ सांसद डिल्लीराम सुवेदीले भने ।बैठकमा सहभागी अर्का एक सांसदका अनुसार त्यहाँ मन्त्री बाहेकका सबै सांसदहरु रुष्ट थिए ।
गठबन्धनको सरकार रहेको गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन । मुख्यमन्त्री सहित सात मन्त्रालय रहेको गण्डकीमा दुईवटा मन्त्रालय पाएको माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा सुशिला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा रेशम जुग्जाली नियुक्त भएका छन ।





