मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ललितानिवास प्रकरणमा पक्राउ परेका ७ मध्ये ३ जना छुटे

ललितानिवास प्रकरणमा पक्राउ परेका ७ मध्ये ३ जना छुटे


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८०, मंगलबार

काठमाडौं / बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताए ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्। अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नु नगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ।

यो आदेशसँगै अब प्रहरीले उनीहरुलाई यो मुद्दामा थुनामा राख्न मिल्दैन। सीआईबीले थुना बाहिरै राखेर अनुसन्धान गर्नुपर्नेछ। उनीहरुले गत साउन १९ गते नै पक्राउ नगर्न र थुना बाहिर रहेरै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए।

सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो ।

यो बीचमा ठगीमा मुद्दा नचलाउने निर्णय भयो भने अहिले सोही पत्रका आधारमा कीर्तेसम्बन्धी कसूरमा अनुसन्धान अघि बढेको थियो ।

सुवर्णशमशेर र उनको परिवारको नाममा रहेको जग्गा सरकारले अधिग्रहण गरेकामा राजनीतिक कारणले जफत भएको भन्दै फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते भएको सीआईबीका अधिकृतहरु बताउँछन् । अधिकृतहरुका अनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->