नवलपुर/डिभिजनल वन कार्यालय नवलपुरले निशुल्क बिरुवा वितरण थालेको छ । वन कार्यालयले कावासोती र गैंडाकोट गरी २ वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो ।
डिभिजनल वन कार्यालय नवलपुरको परिसरमा रहेको डिभिजनल नर्सरी र गैंडाकोट सव डिभिजन कार्यालय गैंडाकोटको सव डिभिजन नर्सरीमा हुर्काइएका १ लाख १८ हजार विरुवा वृक्षरोपणका निमित्त निशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताए ।
दुई वटै नर्सरीबाट १ लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहेपनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको गौतमले जनाएका छन् ।
असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरु बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरु बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निशुल्क रुपमा बिरुवा उपलब्ध गराउँदा बाताबरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरुले सौन्दर्यजन्य धूपी, कल्कीफूल, गोलमोहर, वीरेन्द्रफूल, कपुर जस्ता विरुवाहरु लैजाने गरेका छन् । सामुदायिक वन, संस्थागत र सार्वजनिक स्थलमा बृक्षरोपण गर्नेहरुबाट सबै प्रजातिका मिश्रित बिरुवाको माग हुने गरेको छ । कार्यालयले विरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयहरुले समेत वृक्षरोपणमा चासो देखाएका छन् ।
यहाँवाट विरुवा लगेर कावासोती २ को नवदुर्गा सामुदायिक वनले बन क्षेत्रमा वृक्षरोपण गर्न थालिसकेको छ । कावासोती १ को पोखरीताल कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले करीव ४ बिगाहा क्षेत्रफलमा बहुवर्षीय डालेघाँस लगाउन चाहेको छ । सहकारीकी व्यवस्थापक पुनम परियारले कृषि तथा पशुबस्तु पालनमा आश्रित सहकारीमा आवद्ध २ सय शेयर सदस्यलाई जमिनको अवस्था र पशुबस्तुको अनुपात हेरेर विरुवा वितरण गरी बृक्षरोपण गरिने बताईन् । कृषि कर्म र पशुवस्तु पालन गरेर आयआर्जनमा लागेका कृषकलाई बन कार्यालयले निशुल्क उपलब्ध गराएको डाले घाँस प्रजातिका विरुवाबाट पशुबस्तुको आहारा र उत्पादनमा टेवा पुग्ने विश्वास लिइन् ।
यस वर्ष बन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवाहरु तयार गरेका छ । जसमा बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका विरुवा, बहुवर्षीय फूलका विरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवाहरु उत्पादन गरेको छ ।





