नवलपुर/ नवलपुरमा रोपाईं साउनसम्म चल्ने देखिएको छ । लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमा साउनको पहिलो साता अगाडी रोपाईं नसकिने भएको हो । कम्तीमा पनि २२ दिनपछिको बीऊ रोप्न योग्य हुने भएकाले साउनको पहिलो सातासम्म रोपाईं चल्ने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।
यस्तै, असार १५ सम्ममा जिल्लाको समग्र रोपाईं १० प्रतिशतमात्रै रहेको छ । विगतका वर्षहरुमा ३० देखि ४० प्रतिसत रोपार्इं हुने जिल्लामा यसवर्ष खडेरीका कारण बीऊ राख्ने पानी नहुँदा विगतको तुलनामा अहिलेसम्म हुनुपर्ने रोपार्इंको प्रतिशत घटेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए ।
पौडेलका अनुसार यतिवेलासम्ममा जिल्लाका पहाडी क्षेत्रको रोपाईं छिटो हुन्थ्यो तर यसपालि पहाडी क्षेत्रमा रोपाइँ ढिलो हुने देखिएको छ ।
यतिवेला जिल्लाको कुनै निश्चित स्थानमा मात्रै नभई सबै पालिकाका सिचाई सुविधा भएका जमिनमा फाट्टफुट्ट रोपाईं भएको छ । रोपाईं भएका खेतमा पर्याप्त मल प्रयोग गर्न नपाएको किसानहरुको गुनासो छ ।
कावासोती नगरपालिका वडा नं. १२ पिठौली राजमन्दिरकी लक्ष्मी आचार्यले मलको धेरै समस्या भएको दुखेसो पोखिन् । १ बिगाहा जमिनका लागि पाँच किलोमा चित्त बुझाउनुपरेका बताइन् । उनले आवश्यक मल समयमै कहिले पाउने हो भन्दै प्रश्न राखिन् ।
अर्की कृषक हिरा सुवेदीले कृषकले मल पाइएन भन्न नमिल्ने तर पाईयो भन्ने हो भने मुहानमा राख्न मात्रै पुग्ने मल पाएको भन्दै व्यङ्ग्य गरिन् ।
कावासोती १२ कै मेघनाथ थनेतले सहजै मल नपाइएको बताए । उनले पहिले कावासोती बजारमै पुगेर लाइन लागेर ५–१० किलो मल ल्याउनुपरेको तर अहिले वडामै नजिकै त्यही ५ किलो मल लाईनमै बसेर पाएको सुनाए ।
जिल्लामा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत् आपुर्ति भएको मल विभिन्न सहकारी र ब्यवसायिक फर्ममार्फत वितरण हुदै आएको छ । अगिल्ला वर्षहरुको जस्तो मल नै नपाइने स्थिति नरहेको तर पर्याप्त मल नपाएको भन्ने गुनासो बास्तविक भएको ज्ञान केन्द्रका पौडेलले स्वीकारे ।
गत हप्ता २ रात परेको पानीमा बीऊ राख्न पाएका किसानहरु अहिले असार १५ को पुर्वाद्र्धमा झरी परेलगत्तै बल्ल खेत–कुलो खनजोत, आलीकुना र धान रोप्नुपूर्बको जमिन सरससफाइको मेलोमा ब्यस्त छन् ।
जिल्लामा यसवर्ष १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाईं हुने कृषि ज्ञान केन्द्रको खनुमान रहेको छ । जसबाट ७६ हजार ९ सय ५६ मेट्रिक टन धान उत्पादन हुने लक्ष्यसमेत राखेको छ । यसपालि प्रतिहेक्टर ४ दशमलव ०९ टन प्रतिहेक्टर उत्पादन हुने अनुमान गरेको हो । यहाँ एक हेक्टर बरावर ३० कट्ठा कायम छ । अघिल्लो वर्ष जिल्लामा १८ हजार ८ सय १६ हेक्टरमा लगाइएको धान ७५ हजार ८ सय २७ मेट्रिक टन फलेको तथ्याङ्क कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको छ ।





