पोखरा/ पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयका १४ जना विद्यार्थीले विश्वमा चर्चित विश्वविद्यालय तथा कलेजमा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीमध्ये १४ जनाले विभिन्न विश्वविद्यालयमा नाम निकाल्न सफल भएका हुन् ।
कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गरे ।
बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी एजी, फरेस्ट्री, बिफर्मा, भेटेरिनरी लगायत संकायमा पनि हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकालेर उच्च शिक्षा अध्ययन गर्नेहरु आफ्ना उत्पादन रहेको मदरल्यान्डले जनाएको छ ।
एसइईमा एकै वर्ष ७ जनाले जिपिए ४ ल्याएर राष्ट्रियस्तरमै सर्वोत्कृृष्ट विद्यालयका रूपमा पुरस्कार जितेको मदरल्यान्डबाट १२ सकेका विद्यार्थीले इन्जिनियरिङतर्फ पनि विभिन्न विषयमा हरेक वर्ष बिसौंको संख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दस जोड दुई इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।
प्राचार्य नारायण बरालले विद्यालयको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण विद्यार्थीले मदरल्यान्डलाई नै रोज्ने गरेको सुनाए ।
यस्तै एमबिबिएसमा समेत हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी बढ्दै गरेको उनले बताए । बरालका अनुसार मदरल्यान्डमै पढेका सविन आचार्यले प्रवेश परीक्षामा दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका थिए ।
एमबिबिएसमै एकै वर्ष एकै परिवारका दाजुबहिनी जनक र सम्झना दाहालले पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए । सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेर नेपालकै गरिमा बढाएकोमा विद्यालयले ५० हजारसहित पुरस्कृत गरेको थियो ।
मदरल्यान्डले विद्यार्थीलाई व्यावहारिक सिप विकास तथा समाजिक कार्यमा पनि सहभागी गराउँदै आएको छ । काइन्डनेस क्लब, स्काउट, बर्थडे बैंक र रेडक्रसजस्ता बाल संगठनका माध्यमबाट सामाजिक कार्यमा विद्यार्थी सक्रिय हुने गरेको नेपाल स्काउट क्लब मदरल्यान्डका शिक्षक सहजकर्ता विनीत छन्त्यालले बताइन् ।
एसइई दिएर बसेका विद्यार्थीलाई हरेक वर्ष ब्युटिसिएन, बारिस्ट्रा, इलेक्ट्रिक, प्लम्बिङ तथा कम्प्युटर कोडिङ जस्ता छोटो समयका आत्मनिर्भर बन्ने सिपहरू निशुल्क प्रदान गर्दै आएको एकेडेमिक कोअर्डिनेटर अनुप आचार्यले जानकारी दिए ।





