पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै ७ महिना पछि विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जबकि, अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपोलाई सुरुमा नै स्थापना गर्नुपर्ने संरचनाको रुपमा लिइन्छ ।
तर,यसअघि क्षेत्रीय विमानस्थलमा रहेको डिपोबाट नै अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने विमानहरुले इन्धन भर्दै आइरहेका थिए । आयल निगमले रिफ्युलरबाट जहाजमा आवश्यक पर्ने हवाइ इन्धन ओसार्दै आएको छ । ११ हजार लिटर क्षमता भएका २ वटा रिफ्युलरले विमानस्थलका जहाजमा इन्धन भर्ने गर्दै आएका छन । पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमका अनुसार आइतबार शिलान्यास गरिएको डिपो आगामी डेढ वर्षभित्र निर्माण भइसक्नेछ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विधिवत रूपमा यसको शिलान्यास गरेका हुन ।अहिले भने आयल निगमले करिब ७७ करोड रुपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो । यसका लागि निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।
कुल ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्याङ्क निर्माण गर्न लागिएको हो । ७७ करोड रुपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् भने करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निगमका हवाई इन्धन डिपोका परियोजना प्रमुख भरत रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार विमानस्थलभित्रै १२ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण हुनेछन ।
‘अहिलेसम्म पुरानै विमानस्थलबाट ढुवानी गरेको भरमा कामचलाउ गरिएको थियो तर अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र नयाँ भण्डारणगृह तयार हुनेछ,’ उनले भने । इन्धन भर्ने तीनवटा ट्यांकी, फायर फाइटिङका लागि आवश्यक पूर्वाधार, प्रशासनसहितका पूर्वाधार बन्नेछन ।
अहिले आन्तरिक उडानमा मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सिमित छ । आन्तरिक उडानमा मात्र सिमित रहँदा विमानस्थलमा दैनिक २० देखि ३० हजार लिटर हवाइ इन्धन खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान संचालन हुनासाथ इन्धन खपत बढ्ने रेग्मीले बताए । आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाइ इन्धन डिपो निर्माण गर्ने योजना बनाएको छ । विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो ।
जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापालगायतका ठाउँमा हवाइ इन्धन डिपो निर्माण गर्न आवश्यक रहेको अध्ययनमा देखिएको थियो । निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ ।
मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाइ इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाइ इन्धन डिपो छैन । डिपो नभएका विमानस्थलमा हवाइ जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बोकेर जानुपर्ने बाध्यता छ ।
गगनगौंडा डिपोको क्षमता बढाइयो
कास्कीको गगनगौंडास्थित निगमनको डिपोको सोमबार उद्घाटन गरिएको छ । आयल निगमले यो डिपोको क्षमता विस्तार पनि गरेको छ ।
निगमको इन्जिनियरिङ तथा परियोजना विभागका प्रमुखसमेत रहेको भरत रेग्मीका अनुसार गगनगौंडा डिपोको भण्डारण क्षमता अब कम्तिमा एकमहिनाका लागि पुग्ने बनाइएको छ । गण्डकी प्रदेशको माग अनुसार एककरोड लिटर क्षमताको डिजल भण्डारणगृह निर्माण गरिएको उनले बताए । ‘नियमित आयात प्रभावित भएको अवस्थामा पनि कम्तिमा एकमहिना यो भण्डारणले थेग्नेछ, नाकाबन्दीले भण्डारण क्षमता बढाउन बाध्य बनाएको हो,’ रेग्मीले भने । डिजल भण्डारण गर्न ५०/५० लाख लिटर अट्ने दुइवटा ट्यांक निर्माण गरिएको छ ।
गगनगौंडा डिपोमा २२ लाख ८० हजार लिटर डिजल, ३ लाख ५० हजार लिटर पेट्रोल र ७ लाख ६० हजार लिटर मट्टितेल भण्डारण क्षमता थियो। तर, मट्टितेलको भण्डारणगृहलाई पेट्रोलमा परिवर्तन गरिएको छ । मट्टितेलको ट्यांक पनि पेट्रोलमा परिवर्तन गरेपनि अहिले गगनगौंडासँग १० लाख लिटरभन्दा बढी क्षमताको पेट्रोल भण्डारण क्षमता बनेको छ । त्यसबाहेक डिजलको पुराना भण्डारणगृहलाई पनि पेट्रोलमा परिवर्तन गरेर पेट्रोलको क्षमता पनि २२ लाख लिटर पु¥याउने उनले बताए ।
क्षमता बिस्तार गरेपनि पेट्रोलको भण्डारण पनि कम्तिमा १५ दिनका लागि पुग्ने उनले बताए । अहिले गगनगौंडा डिपोबाट दिनमा २ लाख लिटर पेट्रोल र ३ लाख लाख लिटर डिजल खपत हुने गरेको छ । दुइवर्ष अघि ७७ रोपनी क्षेत्रफलमा ७७ करोड रुपैयाँमा निगमले भण्डारणगृह बनाउन थालेको थियो । गगनगौंडा डिपोबाट प्रदेशभित्रका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङजाका पम्पमार्फत इन्धन बिक्री हुने गरेको छ ।





