म्याग्दी/दुईवर्ष अगाडीसम्म म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो । डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी),इमरजेन्सीका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो । सहर बजारदेखि दुर्गम बस्तीसम्म डेंगु महामारीले आक्रान्त बनाएको थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रण बाहिर थियो । विगतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा म्याग्दी गण्डकी प्रदेशकै धेरै डेंगु संक्रमति भएको जिल्ला र नेपालमा समेत टप १० भित्र पर्ने गरेको म्याग्दीमा पछिल्लो दुई वर्ष संक्रमतिको संख्या नाटकीय रूपमा घटेको छ । मनसुन सुरूभएसँगै बेनी अस्पताल र जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा डेंगु संक्रमति आउने गरेको भएपनि यसबर्ष तुलनात्मक रुपमा घटेको बेनी अस्पतालकी सूचना अधिकारी खेमकुमारी पन्तले बताईन् । ‘वर्षायामसँगै डेंगुको संक्रमण बढेको छ, विगतमा जस्तै भयावहको अवस्था छैन,’ पन्तले भनिन् । उनका अनुसार डेंगुको संक्रमितको संख्या कमी भएपनि अझै जोखिम भने कायम रहेको बताईन् । बरिष्ठ नर्सिङ अधिकृत समेत रहेकी पन्तले वर्षायाम सकिएपछि र जाडो सुरु हुन थालेपछि मात्रै संक्रमणको जोखिम कम हुने बताईन् ।
म्याग्दीमा रोकथाम तथा नियन्त्रणमा गरेको कामका आधारमा डेंगुका बिरामी घटेको र पछिल्लो समय सर्वसाधारण समेत सचेत भएको अवस्थामा लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ’एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको बासस्थान हटाउने अभियान समेत प्रभावकारी भएको सूचना अधिकृत पन्तको भनाई छ ।म्याग्दीमा बैशाख, जेठ र असार महिनामा २१ जनामा डेंगु पोजेटिभ देखिएको थियो भने गतबर्षको चैत्र महिनासम्म १ सय १० जना संक्रमति भएका थिए । त्यस्तै मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणको जोखिममा गएको तीन महिनामा ७ जना र गतबर्ष २३ जनामा पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । बेनीबाट डेंगु र स्क्रब टाइफसको पोजेटिभ भएका केही बिरामी थप उपचारका लागि पोखरा समेत रिफर गरिएको थियो । डेंगुको संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने,डेंगु फैलिने स्थानहरूको पहिचान गरी थप कार्ययोजना सहितको गतिविधिले यसबर्ष संक्रमतिको संख्या घटेको बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द पोख्रेलले बताए ।
‘सचेतनामुलक कार्यक्रमले संक्रमतिको संख्या घटेको छ, जोखिम कायमै रहेपनि यसपटक नियन्त्रण बाहिर जाने सम्भावना छैन,’ डा.पोख्रेलले भने । उनले डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित जोखिम मानिएका स्थानमा नियमित सरसफाईसहितको अभियान सञ्चालन गर्नुपर्ने बताए ।
यो संक्रमणमा कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ।एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्ने भएपनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको बताए । उनले डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। स्क्रब टाइफस र डेंगुको लक्षण करिब एउटै हुने भएपनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु स्क्रब टाइफसका प्रमुख कारण भएको डा. पोख्रेलको भनाई छ । डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सदरमुकाम बेनीमा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘अलिअति पानी जम्यो भने पनि त्यसमै पनि डेंगु लामखुट्टे हुर्किन्छ,पानी जमेको ठाउँलाई सफा गरिहाल्नुपर्छ’ डा. पोख्रेलले भने ।
बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिका भित्रका विभिन्न स्थानमा स्वास्थ्य कार्यालयले खोज तथा नष्ट सहित समेत प्रदेशबाटै टोलीले पहिचान गरी ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन समेत गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले डेंगुबाट जोगिन ‘खोज र नष्ट’ नै सबैभन्दा पहिलो र सुरक्षित विधि भएकाले विगतमा सर्वसाधारणले भागेको समस्या, समाधानका उपायका बारेमा जानकार भएकाले यसबर्ष संक्रमणको दर उकालो लाग्न नसकेको बताए । ‘हामीले डेंगु नियन्त्रणका लागि सधै सचेतनामुलक कार्य गरेका छौ,‘सर्वसाधारण सचेत भएमा यो सजिलै नियन्त्रण गर्न सकिन्छ’ प्रमुख लम्सालले भने । उनले म्याग्दीका स्थानीय तहले समेत डेंगु नियन्त्रण्का लागि आवश्यक रणनीति तय गरी वैशाखदेखि असोजसम्म निरन्तर सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
सन् २०१९ देखि म्याग्दीमा नियमित डेंगुविरुद्धको सचेतनामुलक अभियानसँगै सम्भावित जोखिम स्थानको पहिचान गरी निरन्तर खोजले सहज भएको छ । म्याग्दीको सदमुकाम बेनीमा सबैभन्दा धेरै जोखिम सवारीसाधनको ग्यारेजमा राखिएका थोत्रा टायरमा जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएको अवस्थामा अहिले ग्यारेजका मालिक, मजदुरले समेत आफ्नै पहलमा सरसफाईमा जोड दिइएको छ ।
‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’ अभियान अहिले पनि जारी रहेको बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए । उनले पानी राख्ने भाँडा, ट्यांकी तथा खाल्डाखुल्डी पुर्ने र पानी राख्ने भाडा साप्ताहिक रुपमा सफा गर्ने, बजारभित्रको कौसीखेतीमा जमेको पानी हटाउन जस्ता अभियान समेत यसपटक सञ्चालन गरिएको बताए । म्याग्दीमा हालसम्म भेटिएका संक्रमितको ट्राभल हिस्ट्रीका बारेमा समेत स्वास्थ्यकर्मीले बिरामीसँग बुझ्ने गरेका छन् । महामारी रोग विज्ञानले पनि महामारीरोगको अनुसंन्धान र सर्भिलेन्समा ट्राभल हिस्ट्रीलाई महत्वपूर्ण मानिन्छ । म्याग्दीमा डेंगुसँगै स्क्रब टाइफसको बिरामी समेत देखिएको बेनी अस्पतालले जनाएको छ । मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणको जोखिममा रहेका बिरामीले हेल्चेक्राई गरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाई छ।
म्याग्दीमा भेटिएको डेंगुका संक्रमतिको तथ्याङ्क
१) सन् २०१९– ११
२) सन् २०२०–९९
३) सन् १०२१– ६८
४) सन् २०२२– ११०





