पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार स्वतन्त्रताको नाममा अराजक हुन नहुने बताएका छन् । उनले पत्रकारितामा पछिल्लो समय अराजकता मौलाएको देखिएकाले यसको समाधानका लागि कानूनको खाँचो रहेको बताए ।
गण्डकी प्रदेश सरकार आम संचार विधेयकको तयारीमा रहेको उनको भनाइ थियो । उनी आइतबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा भएको कञ्चन पत्रकारिता पुरस्कार समारोहमा बोल्दै थिए । स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने बताउँदै उनले पत्रकरिता लयमा नबगेको तर्क गरे । ‘आजको पत्रकरिताको लय बिग्रेको छ ।
एउटा समाचार दुई टेलिभिजनमा हेर्दा आकास जमिनको फरक पाइन्छ । समाचार हेर्दा फरक–फरक सन्देश र सूचना जाने देखिन्छ । यसले समाजलाई दिग्भ्रमित गरेको छ । त्यसैले नियमन हुन आवश्यक छ । र पत्रकार आफै पनि जिम्मेवार र गम्भीर हुनुपर्छ’उनले थपे ।
गण्डकी सरकारले ल्याउने आम संचार विधेयकको चर्चा गर्दै उनले भने,‘मलाई कसैलाई नियमन गर्नुछैन त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडी बढ्छ । मेरो एउटै मात्र धेय के छ भने स्वतन्त्रताको नाममा अराजक हुनु भएन ।’ उनले स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा समेत अराजकता फैलिएको टिप्पणी गरे ।
‘सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, अनि हामी सबै त्यसलाई पत्रकारिता भन्छौँ/मान्छौँ । सबै समाचार भन्छौ,’ पाण्डेले भने, ‘यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’ उनले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार संप्रेषण गरेको न्यायोचित नहुने धारणा राखे ।
‘समाचार संप्रेषण गर्दा सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ ।’ उनले पत्रकारिता पैसामा बिक्ने गरेको समेत सुनाए । कसैलाई रकम दिएमा पत्रकारले उसको बारेमा राम्रो कुराहरु मात्र सम्प्रेषण गरिदिने उनको भनाई थियो । ‘यहाँ मैले आरोप लगाउन खोजेको होइन् ।
खालि उदाहरणका लागि मात्रै कुनै पत्रकारलाई पैसा दिए त्यसले मैले जस्तो भन्यो त्यस्तै लेखिदिन्छ समेत भन्छन्,’ उनले भने । यस्तै पत्रकार शुद्धीकरणको विषयमा समेत बोल्दै राजनीतिक दलको शुभेच्छुक संस्था भन्दै नेतृत्व गर्नेले नै शुद्धीकरणको विषय उठाउनु गलत रहेको बताए । उनले पत्रकारिताले मुलुक आज किन यस्तो भएको छ भन्ने कुराको विश्लेषण गर्नेमात्र नभइ अब कसरी जान सकिन्छ, देशलाई कहाँ पु¥याउन सकिन्छ भन्ने कुराहरुको सम्भावनाका विषयलाई समेत समायोजित गराउन अनुरोध गरे । परकारले लेखेका समाचारले समाज र व्यक्तिमा धेरै प्रभाव पार्ने हुँदा जिम्मेवारीका साथ ग्रहण गर्नुपर्नेमा जोड दिए ।
कञ्चन पत्रकारिता पुरस्काबाट सुन्दरकुमार र हुम पुरस्कृत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् ।
फोनिजको २४ औं स्थापना दिवसको अवसरमा शनिबार पत्रकार द्वयलाई पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरेका हुन् । सम्मानित हुँदै पत्रकार सुन्दरकुमार थकालीले दूरदराजको जिल्ला मुस्ताङमा पत्रकारिता गर्न निकै चुनौतीपूर्ण रहेको बताए ।
उनले आफूले चाहेर पनि केही मुद्दाहरुमा कलम चलाउन नसकेको समेत सुनाए । ‘मस्ताङमा पत्रकारिता गर्न निकै जटिल छ । केही मुद्दाहरु छन् जसलाई मैले लेख्न नसक्ने स्थिति छ । किनकि, एउटा समुदायको स्वार्थमा जोडिएकाले जोखिमपूर्ण छ,’ उनले भने, ‘त्यहाँ पत्रकार पनि कम छन् । लेखिहाल्यो भने पनि असुरक्षित हुन्छौं ।
त्यसले गर्दापनि कतिपय कुरा देखेर पनि लेख्न नसकिने अवस्था छ ।’ धार्मिक, सांस्कृतिक, जग्गा, मुक्तिनाथका विषयमा धेरै कुरा रहे पनि लेख्न असमर्थ रहेको बताए । यस्तै अर्का सम्मानित भएका पत्रकार पत्रकार हुम गुरुङले तमुको आवाज आफै लेख्नुपर्छ भन्ने मिसनसहित मिडिया खोलेको बताए । उनले पत्रकारिता कसैले कलम थमाएर गर्न नसकिने सुनाए । ‘पत्रकारिता मनले गर्ने हो । आफ्नो भावनाले गर्ने हो, टीका लगाइ दिएर कोही पनि पत्रकार हुँदैन । कलम थमाइदिएर पनि पत्रकार हुँदैन । मनको कलमले लेख्नुपर्छ, विवेकले लेख्नुपर्छ,’ उनले भने, ‘हामीमाथि कुनै बहानामा प्रहार भएपनि मलाई केही फरक पर्दैन ।’





