सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मलाई विदेशमै लुक्छ भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

मलाई विदेशमै लुक्छ भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्।

अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको बताए।

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए। ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।  आफू दुई/तीन दिनअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट भनेका बेला काट्न नसकिएको बताए।

‘विदेशमा रहेका साथीहरूले कार्यक्रममा बस्न नपाएपछि चित्त पनि दुखाउनुभयो। म के गरूँ, विभिन्नले लेखिरहेका छन्। साँच्चै हो कि क्या हो भन्ने पनि कतिपयलाई पर्ला, पटकपटक समाचार आएपछि म स्वदेश फर्किएँ,’ उनले भने, ‘म फर्केर आउँदाको सन्देश अर्कै हुन्छ। चुनौतीको सामाना गर्ने ढंगले फर्किएँ।’

उनले थप दुई देश भ्रमणको योजना रद्द गरिएको पनि बताए।  उनले आफूले कुनै बदमासी नगरेको पनि बताएका छन्। ‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन,’ उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन। तर अलिअलि चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो।’

उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो।

अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->