सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आँखा पाक्ने संक्रमण मत्थर तर सापुको डर

आँखा पाक्ने संक्रमण मत्थर तर सापुको डर

आँखा पाक्ने र सापुको विरामीको उपचार खर्चको कारण नरोक्न मन्त्रीको निर्देशन ।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८०, मंगलबार

पोखरा/ गण्डकी प्रदेशमा यतिबेला आँखा पाक्ने रोगको संक्रमणको जोखिम छ । कास्कीमा केही दिन पहिले उत्कर्षमा पुगेको संक्रमण दर घट्दो छ तर म्याग्दी लमजुङमा भने औषधिको अभाव देखिएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सोमबार ११ जिल्लाकै स्वास्थ्य अधिकारीहरुसँग आँखा पाक्ने र सापु संक्रमणको अवस्थाबारे जानकारी लिएको छ । सोही उपक्रममा सामाजिक तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले आफ्ना मातहतका स्वास्थ्यसम्बन्धी सबै संस्थालाई आँखा पाक्ने संक्रमण र सापुको उपचार गर्न निर्देशन पनि दिइन् । उनले उपचारका लागि आउने बिरामीहरु रकम अभावका कारण उपचारबाट बञ्चित नहोउन् भन्नेमा सचेत रहन आग्रह पनि गरिन् । ‘आर्थिक कारणले उपचार नपाउने स्थिति नहोस ।

सोही अनुसार सबै जिल्लामा समन्वय गरेका छौं तपाईंहरु पनि गर्नुहोस् । समाधान गर्न लाग्नुहोला । बाँकी कामका लागि मन्त्रालय छ । हामी गर्न पर्ने काम गर्छौं । टिम तयारी राख्नुहोला । सर्वसुलभ उपचार गर्न अनुरोध गर्दछु,’ मन्त्रीले भनिन् । उनले महामारी फैलनु अगावै सचेत हुनुपर्छ भन्ने पुष्टि भएको पनि सुनाइन् । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र रहेकाले हेलचेक्र्याइँ गर्न नहुने उनको भनाइ थियो । ‘हामी संवेदनशील क्षेत्रमा छौँ । सबै जिल्लाका स्वास्थ्यसँगसम्बन्धित साथीहरुसँग छलफल भएको छ । ज्ञानमूलक हिसाबले हामी अघि बढ्नुपर्छ । आँखा पाक्ने रोगबाट मुक्त हुन्छौं भन्ने लागेको छ । उनले भनिन्, ‘सापुको लागि अहिल्यै तयारी रहौं । औषधि छैन भने खबर गरौ । जनचेतना फैलाऔं र औषधि व्यवस्थापन गरिहालौं ।’

मन्त्रीको आग्रहपछि जिल्लास्थित स्वास्थ्यकर्मीहरुले केही जिल्लामा आँखामा हाल्ने ‘आइड्रप’को अभाव भएको जानकारी गराएका थिए ।

हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा.इलिया श्रेष्ठले पछिल्लो एक हप्तामा गण्डकीमा आँखा पाक्ने संक्रमणको विरामी घट्दो अवस्थामा रहेको र अब सापुको लागि सचेत हुनुपर्नेमा जोड दिइन् । उनले आँखा पाक्ने महामारीको रुपमा रहेको र आत्तिइहाल्ने अवस्था नरहेको सुनाइन् । उनले अन्य अस्पतालमा सामान्य आँखाको उपचार हुने व्यवस्था भएमा आँखा अस्पताललाई विशिष्ट अस्पताल बनाउन सकिने बताइन् । ‘आँखा पाक्ने महामरी घट्ने अवस्था छ भने सापु बढ्ने स्थिति छ । यसका लागि सचेतना आवश्यक छ । स्वास्थ मन्त्रालयबाट सापुको बिरामीलाई निशुल्क उपचार गराउने व्यवस्था हुनुपर्छ,’ उनले भनिन्, ‘हामीसँग आँखाको बिरामी बढ्दो क्रममा छ । तर, पुर्वाधारको अभाव भइरहेको छ । प्रदेश सरकारले पूर्वाधारका लागि पनि सहयोग गरेमा हामीले व्यवस्थित तरिकाले उपचार सेवा दिन सक्ने थियौं ।’

उनका अनुसार आँखासम्बन्धी बिरामीहरु गाउँबाट आउने र उनीहरुका लागि सुविधाको अभाव हुने गरेको छ ।सापुको बिरामीको सामान्य उपचार गर्न परे तीनदेखि चार हजार रुपैयाँ र अप्रेसन गर्नुपरे ३० हजार रुपैयाँसम्म लाग्ने उनले जानकारी दिइन् । ‘माइल्ड केस भए ३–४ हजारसम्म हुन्छ । सिरियस केसमा २०–३० हजार बढी खर्च हुन आउँछ । विशेषगरी बच्चाहरुमा बढी देखिने हुँदा विशेष ठाउँमा राखेर उपचार गर्नुपर्छ ,जहाँ १० हजार दिनुपर्छ,’ उनले भनिन् । सापु के कारण लाग्छ भन्ने निचोडमा अझै वैज्ञानिक पुग्न नसकेको उनी सुनाउछिन् । सन् १९७५ पहिलो पटक सापु देखिएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले क्षेत्रीय अस्पतालमा आँखासम्बन्धी उपचार नभएको सुनाए । उनले पछिल्लो समय आँखासम्बन्धी बिरामी बढ्दै जाँदा आँखाको उपचार गर्ने विभागको आवश्यकता महसुस गरेको समेत सुनाए । ‘हामीकहाँ आँखाको विभाग नै छैन् । पहिला थियो । आँखाको अस्पताल बनेपछि हटाएको हो तर अहिले पुनः आँखा विभाग हुनुपर्छ भन्ने महसुस भएको छ । अब बनाउनुपर्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले आँखा पाक्ने संक्रमणले एक हप्ता दुःख दिने गरेपनि सापु भने निकै खतरा रहेको बताए । उनले सापुको संक्रमण भएका बिरामीले ४८ घण्टामा उपचार नगरे आँखाको दृष्टि नै गुमाउने सुनाए । ‘आँखा पाक्यो भन्दैमा त्यसै बसेर हुँदैन । अब सापुको संक्रमण पनि हुने बेला छ । दुवै संक्रमणमा आँखा रातो हुन्छ । आँखा पाक्दा आँखा दुख्छ तर सापुले दुख्दैन,’ उनले भने, ‘आँखाको कालो भाग सेतो हुँदै जान्छ । डरलाग्दो अवस्था हुन्छ । आँखाको कालो भागमा पिप जम्ने अवस्था हुन्छ । रातो कारणले गर्दा ठिक होला भन्ने नसोच्नु । महामारीको रुपमा आउने खतरा छ । सेतो पुतली आउने समयमा बढी देखिन्छ सबै सचेत हुनुहोला ।’ उनले ११ जिल्लाकै स्वास्थ्य क्षेत्रलाई सापु र आँखा पाक्ने संक्रमणका लागि सचेतना फैलाउन अनुरोध गरे । हालसम्म कास्कीमा ८ हजार ५ सय १३, नवलपुरमा ५ सय ६०, पर्वतमा ४ सय, तनहुँमा ३ सय ६६, गोरखामा ३ सय ४२, स्याङ्जामा १ सय ५६, म्याग्दीमा १ सय १२, लमजुङमा ५३, मुस्ताङमा २८ र मनाङमा १५ जनामा आँखा पाक्ने सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->