बागलुङ/ गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा गरियो भने त्यो दिर्घकालिन हुने बताएका छन् ।
उनले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) को विकासका निम्ती सवैको साझा जनप्रतिनिधि भएर काम गर्न आफु प्रतिवद्ध रहेको बताए । सुवेदीले चालु आर्थिक वर्षमा यस प्रदेश क्षेत्रभित्र झण्डै ६५ करोड बराबरको रकमका कुल १ सय ५१ वटा योजना रहेको जानकारी गराए । ती योजना कार्यान्वयन गर्ने काम भनेको यहाँका जनताको रहेको र यसल आगामी दिनमा अझ थप काम गर्न सहज हुने बताए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेको युवा नेता सुवेदीले काँग्रेसबाट निर्वाचित हरेक जनप्रतिनिधि जनताकै काममा तल्लिन भएको बताए । ‘हामी काममा विश्वास गछौं, जनताको समस्यालाई मध्यनजर गरी विकास निर्माणका लागि अघि बढेका छौं सुवेदीले भने, –‘निर्वाचित भएको एक वर्ष पुग्दै छ, प्रचारबाजी भन्दा पनि काममा अगाडी बढ्ने हो, काम गरेपछि जनताले भोली आफै मुल्याङ्कन गर्नुहुनेछ । उनले जनताको माग अनुसारका योजनाहरु पहिलो वर्ष नै पुरा हुन नसकेपनि पाँच वर्षमा सम्बोधन हुने बताए ।
नेता सुवेदीले नेपाली काँग्रेस जनताप्रति उत्तरदायी पार्टी भएको बताए । उनले अहिले आएको व्यवस्था काँग्रेसकै नेतृत्वमा आएको हुँदा समाज र देश धान्ने पार्टी नै काँग्रेस भएको दाबी गरे । ‘संविधान निर्माणदेखी मुलुकको हरेक परिवर्तन गर्ने काँग्रेस नै हो, पार्टीभित्र केही असहमती त होलान नै, सुवेदीले भने,– ‘ती असहमतीलाई चिरेर परिवर्तनको बाटो हिंड्नुपर्छ, अब काँग्रेसलाई रुपान्तरण गर्न हामी नेता तथा कार्यकर्ता रुपमान्तरण हुन जरुरी छ ।
कार्यक्रममा बरेङका नेता तथा कार्यकर्ताले विकास निर्माणसँगै पार्टीको संगठन सुदृढिकरणका निम्ती केन्द्रदेखी तल्लो तहसम्म लाग्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले गाउँ वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र जनताको कामप्रति उत्तरदायित्व बन्न नसकेको गुनासो पोखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पार्टीको संगठन निर्माण र जनताको सवालमा बहस गर्न जरुरी रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख)का सचिव बालकृष्ण शर्मा, बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका अध्यक्ष अमर शेरबुजा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेल, सुजन सापकोटा लगायतले अबको काँग्रेस बलियो काँग्रेस भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
सम्मेलनमा बरेङ गाउँपालिका भित्रका सवै वडाका वडा सभापति, स्थानिय नेता तथा कार्यकर्ता महिला संघ तरुणदलका नेताहरुले प्रदेश सभा सदस्य र काँग्रेस जिल्ला सचिवलाई केही जिज्ञासासहित सुझाव दिएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बरेङ गाउँपालिकाका सभापति तुलसीराम कंडेलको अध्यक्षता, प्रदेश महाधिवेशन प्रतिनिधि सदस्य मोतिराम गौतमको स्वागत र गाउँपालिकाका सचिव अमृत गौतमको संचालनमा सम्पन्न भएको थियो ।





