पोखरा / पोखरा रंगशालामा वर्षेनी अनेकौं गतिविधि हुन्छन् । रंगशालाभित्र विभिन्न खेल संघले वर्षेनी अनेकौं फुर्को जोडेर प्रीतयोगिता आयोजना गरिन्छ ।
तर, रंगशालामा हुने खेल तथा कुनै पनि गतिविधिको तथ्यांक र आर्थिक हिसाबकिताब छैन । सूचनाको हक प्रयोग गरी पोखरा रंगशालामा के कति कतिविधि र कति आम्दानी हुन्छ भनी पूर्ण विवरण माग गर्दा विषयगत शीर्षकको आर्थिक गतिविधि दिनै आनाकारी गरियो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग पोखरा रंगशालाको आम्दानीको विवरण, खेल संस्था र भोगचलान, भाडामा लगाउने प्रावधान, केके प्रायोजन गर्न पाउँछन् भनी सूचना माग गर ेपनि क्षेत्रीय खेलकुद विकास समितिले भने आलटाल गर्दै अपूर्ण सूचना दिएको छ ।
यस्तै पोखरा रंगशालामा कति खेल संघले प्रशिक्षण गराउँछन भनी तथ्यांक माग्दा खेल संघसँग माग्न भन्दै गैरजिम्मेवारीपुर्ण जवाफ समेत दिएको छ ।
एकातिर आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भने क्षेत्रीय खेलकुद संघलेसमेत एकमुष्ट खर्च हिसाबमात्र दिएको छ । क्षेत्रीय खेलकुद विकास समितिले विवरण माग गर्दा आ.व. २०७९÷०८० मा १७ लाख १३ हजार एक सय ११ रुपैयाँ आम्दानी भएको र १६ लाख एक हजार एक सय ८३ रुपैयाँ खर्चभएको उल्लेख गरेको छ ।
तर रकम कसरी आयो र कसरी खर्च भयो भन्ने विषयगत शीर्षकसहितको खर्च दिन भने सकेको छैन् । बारम्बार विषयगत शीर्षकमा दिन अनुरोध गर्दा ‘त्यो झन्झटिलो छ पूरै बैंक स्टेटमेन्ट हेर्नुपर्छ साध्य हुँदैन्,’ भन्ने जवाफ फर्काएका छन् । उत्तर दिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी हुन् ।
उनले रंगशालामा खेल संघहरुले गर्ने गतिविधिको कुनै रकम नै नलिने गरेकोसमेत बताए । ‘यहाँ खेल हुदाँ रकम लिइदैन् । खेल संघको कार्यक्रममा भाडा आउँदैन,’ उनले भने, ‘निशुल्क रुपमा प्रयोग गर्ने हुन् । प्रयोग गर्दा संरचना टुटफुट भएमा बनाउने काम मात्र गर्छन् ।’
उनका अनुसार पोखरामा वर्षेनी हुने आहा गोल्डकप, टाइगरकप लगायतका खेलले समेत भाडा दिँदैनन् । तर, सहारा क्लब पोखराले भने क्याराभान गोल्डकपदेखि नै रंगशालाका लागि भाडा तिर्दै आइरहेको छ । सहारा क्लब पोखराले भाडा भने सोझै जिल्ला खेलकुदकै खातामा हालिदिने गरेको छ ।

(आहा रारा गोल्डकपको क्रममा पोखरा रंगशाला प्रयोग गरेवापत खेलकुद विकास समितिलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हातबाट चार लाख रुपैयाँ प्रदान गर्दै सहारा क्लब ।)
यस्तै क्षेत्रीय खेलकुद विकास समितिले रंगशालामा कुनै मेला महोत्सव नभएको बताइरहँदा केही महिनाअघि मात्रै यामाहाले एक मेलाको आयोजना गरेको थियो ।
पोखरा रंगशालामा साना ठुला गरी वर्षेनी सयौं खेल प्रतियोगिता तथा मेला हुन्छ । वर्षमा दुई–तीन पटक मोटरसाइकलले रंगशालामा एक्सचेन्ज मेलाको आयोजना गर्छ तर खेलकुद विकास समितिले भने कुैन मेला नभएको पत्रमा उल्लेख गरेको छ ।
क्षेत्रीय खेलकुद विकास समितिले पठाएको पत्रमा लेखिएको छ ‘पोखरा रंगशालामा हल र खेल स्थन-स्थान प्रयोग बापत केही खेल सम्बन्धि क्लब, विद्यालय, विद्युत प्रयोग गरे वापत संघहरुबाट, चालु आ.व. देखि नर्सरी, क्यान्टिन र फिजिकल ट्रेनिङवापत प्राप्त हुने रकम यस समितिको आम्दानीको रुपमा लिइएको छ ।’
तर, कति रकम हो भन्ने कुरा भने खुलाएको छैन । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले फिजिकल टे«निङबाट ५२ हजार रुपैयाँ लिने गरेको बताए । यस्तै क्यान्टिनबाट १४ हजार ६ सय, नर्सरीबाट ११ हजार रुपैयाँ लिने गरेको बताए । उनका अनुसार वैशाखदेखी मात्र पोखरा रंगशालाको आम्दानी क्षेत्रीय खेलकुद विकास समितिले हेर्दै आएको छ ।
योगीले फिजिकल ट्रेनिङबाट ५२ हजार रुपैयाँ आउने बताएपनि लेखा प्रमुख डिवि नेपालीले भने ४६ हजार रुपैयाँमा सम्झौता भएको सुनाए । नेपालीले गोर्खाल्यान्ड सेक्युरिटी सर्भिससँग मासिक ४६ हजार रुपैयाँका दरले लिने सम्झौता भएको हो । स्रोतका अनुसार सबै कुराको तथ्यांक राख्दा आर्थिक चलखेल गर्न नपाउने भएकाले रेकर्ड नै राखिएको छैन ।

पोखरा रंगशालामा प्रशिक्षक र प्रतियोगिताको नाममा कमाउ धन्दा चल्दै आएको स्रोतको दाबी छ । ‘यहाँभित्र खेल प्रतियोगिता भइरहन्छ । आर्थिक पारदर्शीता कसैले देखाउँदैन । बिल जति सबै मिलाएर खाने हो,’ स्रोतले भन्यो, ‘पूरै सेटिङको भरमा छ, रंगशाला ।
पोखरा रंगशाला निशुल्क लिने तर प्रशिक्षण गर्न आउने खेलाडीबाट ठुलो रकम लिने गरेको छ ।’ पोखरा रंगशालाले आम्दानी गर्ने धेरै पाटो रहे पनि कार्यविधि नहुँदा आर्थिक चलखेल हुने गरेको हो । कार्यालय प्रमुख योगीले कार्यविधि एक वर्षअघि राखेपलाई बुझाए पनि त्यसको कुनै सुनुवाई नभएको सुनाए । ‘कार्यविधि बनेर आएपछि सबै व्यवस्थित हुन्छ,’ उनले भने ।
उनका अनुसार रंगशालामा हुने गतिविधिको कुनै तथ्यांक छैन् । रंगशालामा कति खेल हुन्छ त्यो पनि थाहा छैन् । त्यतिमात्र होइन त्यहाँ कति खेल संघ र एकेडेमीले प्रशिक्षण गराउँछ भन्ने यकिन छैन । प्रशिक्षण गराउने नाममा कमाउ धन्दा गर्दै आइरहेको प्रशिक्षकहरुले समेत न्यून रकम लिँदै आएको जवाफ दिने गरेको स्रोत बताउँछ ।

खेलकुद भित्रको बेथितिको बारेमा नाम नखुलाउने सर्तमा एक प्रशिक्षकले पाँच सयदेखि १५-२० हजार रुपैयाँसम्म लिने गरेका छन् । ‘पोखरा रंगशालाभित्र पूरै आर्थिक चलखेल हुन्छ सबै मिलेर पैसा खान्छन्’ स्रोतले भन्यो, ‘प्रशिक्षकहरुले के आधारमा पैसा लिन्छन ? धेरै खेल संघले प्रतियोगिताको आयोजना गर्छन् तर आर्थिक पारदर्शिता कसैले देखाउँदैनन् ।’
स्रोतका अनुसार खेलाडी छनोटदेखि खेलाडीको भत्तासम्म प्रशिक्षकले कुम्ल्याउने गरेका छन् । त्यतिमात्र होइन रंगशालामा रहेको ब्याडमिन्टन, स्क्वास लगायतका केही खेलमा त झन बाजी नै खेल्छन् । प्रदेश खेलकुद परिषद्का एक पदाधिकारीका अनुसार ब्याडमिन्टन र स्क्वासमा खेलाडीले बाजी राखेर खेल्नै पाउँदैनन् ।
त्यहाँ खेल्ने व्यवसायी घरानाका व्यक्तिहरु हुन् । ‘रंगशाला खेलाडी उत्पादन गर्ने थलो कम भुँडी घटाउने र बाजी खेल्ने ठाउँ ज्यादा भएको छ,’ स्रोतले भन्यो, ‘विहान बेलुकाको समयमा ठूला–ठूला व्यक्ति आएर खेल्छन् । ब्याडमिन्टनमा त छिरेकै पैसा लिन्थे । खेल्न गयो भने पाँच सयबाट माथि लिने गर्थे । त्यतिमात्र होइन यहाँका खेलकुद संघ एका दुई बाहेक सबै अवैध हुन् विश्वास नलागे गएर हेर्दा हुन्छ ।’
प्रदेश खेलकुद विकास ऐन २०७७ परिच्छेद ६ को दफा ३ (घ) अनुसार प्रत्येक वर्ष संघको आय व्ययको प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कुनै पनि खेल संघ नभएको स्रोत बताउँछ ।
‘प्रदेश सरकारको स्वयम सेवक प्रशिक्षक जो योग्य पनि छैन् ,अयोग्य मान्छेलाई लगेर दशजोड दुई पास गरेको भरमा प्रशिक्षक राखेर उसलाई आफ्नो हलमा ट्रेनिङ गराउन लगाएर मान्छे खोज्न लगाएर त्यसले प्रदेश सरकारको तबल खान्छ अनि त्यो मान्छेले पैसा उठाएर एक जनालाई बुझाउँछ त्यो कुरा यहाँ सबैलाई थाहा छ त्यो कुरा निकायमा बस्नेलाई पनि थाहा छ,’ ती पदाधिकारीले भने, ‘दुई–चार हजार होइन डेढ दुई लाख रुपैयाँ उठाउँछ भन्ने प्रमाण पनि छ । लिखित प्रमाण होइन, बिल छैन् । ऊ आफैले भनेको जवाफ हो त्यो भएपछि अख्तियारमा पुगेको हो ।’





