बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाम्रा परिवारका सदस्य खै ? थाहा चाहियो !

हाम्रा परिवारका सदस्य खै ? थाहा चाहियो !


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

बागलुङ / सशष्त्र द्वन्द्वको बेला बेपत्ता भएका, मारिएका, अपहरण र अन्य समस्यामा पारिएका व्यक्तिका परिवारले सत्य जान्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफन्तको हत्या किन भयो ? किन बेपत्ता पारिए र किन यातना दिइयो भन्ने जान्न पाउने अधिकार राज्यले कुष्ठित बनाएको समेत गुनासो गरेका छन् ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औं अन्तराष्ट्रिय दिवशको अबसरमा सहभागिले सत्य जान्न पाउने अधिकारको खोजी गरेका हुन् । उनीहरुले बेपत्ता नागरिकको खोजी गरी मरे बाँचेको सूचना दिनुपर्ने माग गरेका छन् । ‘मेरी छोरी कता छे ? मरेकी भए पनि बाँचेकी भएपनि जान्न पाउनु पर्छ’ गलकोट नगरपालिका २ की सरस्वती बिकले भनिन्, ‘रातदिन पीडामा बस्नुभन्दा मरे बाँचेको थाहा पाए एक सुर हुन्थ्यो ।’ छोरीको खोजीमा उनले २१ बर्षसम्म बिताइसकेको बताइन् ।

पीडित साबित्री खड्काले बाबुलाई आँखा अगाडि मारिएको भन्दै किन मारियो भन्ने जान्न पाउनुपर्ने बताइन् । यस्ता धेरै पीडितले बेपत्ता दिवशको दिन पारेर जान्न पाउने अधिकारको खोजी गरेका हुन् । बेपत्ताको खोजी गर्न राज्यलाई उत्तरदायी बनाउन जाहेरी दिंदा समेत दर्ता नभएको अधिवक्ता राम शर्माले बताए । उनले पीडितको न्यायका लागि प्रशासन र प्रहरीले जाहेरी समेत दर्ता नगर्दा पीडितले न्याय पाउने आसै मरेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले न्याय पाउने पीडितको अधिकार भएको बताइन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई शक्तीशाली बनाएर जानुपर्ने धारणा राखिन् । ती आयोग शक्तीशाली बन्दा पीडितले सत्य थाहा पाउने अबसर प्राप्त हुने भन्दै बिधेयक पास गरेर लैजाने वातावरण बनाउन दलहरुको सक्रियता चाहिएको उनको भनाइ थियो ।

श्रेष्ठका अनुसार सशष्त्र द्वन्द्वको बेला बागलुङमा २१ जना बेपत्ताको सूचि छ । सशष्त्र द्वन्द्वको समयमा बागलुङका १ सय ३९ जनाको मृत्यु भएको थियो भने १ सय २ जना अपहरणमा परेका थिए । बिस्थापित ७९ जना, अंगभंग २३ जना, घाइते ५३ जना छन् भने ४१ जना बालबालिकाले अभिभावक गुमाएका थिए । वकालत मंच, इन्सेक, नेपाल रेडक्रस सोसाइटी, द्वन्द्व पीडित महिला तथा द्वन्द्व पीडित समाज मिलेर बुधबार सत्य जान्न पाउने अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए् ।

बेपत्ता परिवारकी सदस्य देवीसरा सिउठानीको अध्यक्षता, पीडित साबित्री खड्काको संचालन र इन्सेक प्रतिनिधि सिर्जना पन्तको स्वागतमा सम्पन्ना कार्यक्रममा बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, अधिकारकर्मी कुञ्जनी परियार, लक्ष्मी जिसी कार्की, पीडितहरु कुमारी घमाल र सरस्वती बिक, अधिवक्ता राम शर्मा, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य यामदत्त कंडेल, बागलुङ नगरपालिका वडा नंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम लगायतले पीडितको पीडामा मलम लगाउनुपर्ने बताएका थिए ।

अधिकारकर्मीहरु लक्ष्मी जिसी कार्की, काजी गाउँले श्रेष्ठ र कुञ्जनी परियारले शान्ति प्रक्रियाको पहिलो चरण नै पुरा नभएको टिप्प्णी गरे । ‘द्वन्द्वको पीडाको घाउ निको पार्नु पर्ने बेलामा खिल पल्टेर बसेको छ’ परियारले भनिन्, ‘सके निको पारौं नसके पनि मलम लगाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->