बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८०, मंगलबार

नवलपुर/ नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा सुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गरे ।

यस अगाडी अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुदै आएको थियो । १५ शैयाको नगर अस्पतालमा सुरुवातमा ७ शैयाबाट अन्तरङ्ग सेवा सञ्चालन हुने अस्पतालका प्रमुख नन्दलाल राना मगरले बताए । अस्पतालबाट यस अगाडी सर्पदंश, रेविज, प्रयोगशाला, प्रसुति लगायतका स्वास्थ्य प्रवाह हुदै आएको थियो । अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञ सहितको स्वास्थ्य परिक्षण सेवा थप गर्ने योजनामा रहेको रानाले बताए ।

मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयहरुको लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउँछन् । निर्माणधिन नगर अस्पतालको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य सम्पन्न भएपस्चात थप सेवाहरु समेत बिस्तार हुने उनले बताए। उनले नागरिकहरुलाई अस्पतालसम्म ल्याउने र उनीरुको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न समेत अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारीहरुलाई अनुरोध गरे । क्रमशः अस्पतालमा सेवा लिन आउने नागरिकहरुको संख्यामा बृद्धि भइरहेको भन्दै उनले नागरिक मैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य संस्थाहरुको नक्साङ्कन गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा नगरले छलफल शुरुवात गरेको पनि उनले बताए । चोरमारा, अरुणखोला र कोल्हुवा केन्द्रमा एम्बुलेन्स सेवाको सञ्चालन, विपन्न परिवार स्वास्थ्य बिमा कार्यक्रमलगायतको विषयमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

मध्यविन्दु नगरपालिका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले विगतको अवस्थाबाट हालको अवस्थासम्म आइपुग्दा विभिन्न चरणहरु पार गरेको स्मरण गर्दै नागरिकलाई प्रवाह गरिने सेवाको गुणस्तरीयता र विश्वनियतामा ध्यान दिनुपर्ने सुझाए । नगर अस्पताल निर्माण पस्चात सबै नागरिकलाई सहज सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।

मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले विपन्न र ग्रामीण स्तरमा रहेका नागरिकहरु आर्थिक अवस्था कै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नहोस् भन्ने तर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको भनाई राखे । उनले नगर अस्पतालमा शुरुवात भएको अन्तरङ्ग सेवाले न्यून आय भएका नगरबासीको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले अझै पनि आम नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सके स्थानीय समुदायलाई उपचार वापत लाग्ने खर्च बोझको कमी संगै अस्पताल सञ्चालनमा सहयोग पुग्ने बताए ।

साविकको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालमा स्तरोन्नति गरिए पस्चात पुरानै भवनबाट अस्पतालले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालको भवन निर्माण सम्पन्न भएपस्चात सेवा प्रवाह थप प्रभावकारी हुने अस्पतालका उपाध्यक्ष अमृत प्रसाद ज्ञवालीले विश्वास व्यक्त गरे ।

अन्तरङ्ग सेवा शुभारम्भ कार्यक्रममा मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी, पूर्वउपप्रमुख ओमकुमारी महतो, अस्पतालका पूर्वअध्यक्षहरु, वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->