सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आदिवासी एकतामा मन्त्री आलेको जोड

आदिवासी एकतामा मन्त्री आलेको जोड


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

पोखरा/ गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले अधिकारका लागि आदिवासी जनजाति एकता र सहकार्य जरुरी रहेको बताएका छन् । गण्डकी प्रदेश सरकार आदिवासीको अधिकारप्रति संवेदनशील रहेको पनि उनको भनाइ छ ।

उनी २९ औं आदिवासी दिवस तथा २४ औं फोनिज स्थापना दिवसका अवसरमा आदिवासी जनजाति पत्रकार महासघं फोनिज गण्डकी तथा फोनिज कास्की शाखाको आयोजना तथा नेवाः पत्रकार पुचः कास्कीको समन्वयमा मंगलबार आयोजित आदिवासी जनजाति संघ–संस्थासँग बृहत् अन्तरसंवाद कार्यक्रममा बोल्दै थिए ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजाति समुदायको बीचमा सद्भाव हुनु जरुरी रहेको बताए । हरेक जनजातिको आ–आफ्नै संस्कार र संस्कृति रहेको र त्यसलाई जोगाउनु सोही समुदायको पहल आवश्यक भएको उनको भनाइ थियो । तमु धिं नेपालका अध्यक्ष तथा फोनिजका संघीय सल्लाहकार हुम तमुले आदिवासी जनजाति पत्रकार तथा आदिवासी संघसंस्थाबीच एक–अर्कालाई नखोज्ने प्रवृत्ति रहेको बताए । आदिवासीका गतिविधिलाई संचारमाध्यमले नसमेटेको पनि उनको गुनासो थियो ।

फोनिज गण्डकी प्रदेशका प्रदेश इन्चार्ज एमबी आस्था मगरले आदिवासी जनजाति समुदायकालाई दोस्रो दर्जाको नागरिकको तहमा हेर्ने नजर बदल्नुपर्ने बताए । कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगर, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र गुरुङ,तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष खिमा गुरुङ,महासचिव धनबहादुर गुरुङ ‘सुमन’, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका कार्यवहाक अध्यक्ष ओम गुरुङ, दुरा सेवा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेवाः देः दवु कास्कीका सचिव रिता नापित, थकाली सेवा समिति कास्कीका कार्यवहाक अध्यक्ष तेजेन्द्र तुलाचन लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->