पोखरा/ शनिबार तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा आजिवन सदस्य मनकुमारी तमुले बुवा स्वर्गी केशबहादुर तमु र आमा स्वर्गीय विरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको एक लाख २५ हजारको अक्षयकोष स्थापना गरिन् भने तमु समाज वेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र उनकी श्रीमती टिकादेवी तमुले पनि स्वर्गीय बुवा यमबहादुर तमु आमा मनकाउरी तमुको स्मृतिमा अक्षयकोष सोही १ लाख १५ हजार प्रतिष्ठानलाई प्रदान गरे ।
कार्यक्रममा सचिव कन्चन तमुबाट प्रस्तुत गरिएको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमुबाट प्रस्तुत आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । साथै नव नियुक्त विद्यार्थी समितिका अध्यक्ष सुदीप तमुलाई मुल समितिको पदेन सदस्यमा मनोनित गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सह–सचीव भेषराज तमुले सन्चालन गरेका थिए । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमु प्रमुख अतिथि रहेको साधारणसभामा गुरुङ साहित्यिक मन्च नेपालका अध्यक्ष गौरी तमु,तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदीप तमु, तमु धीं नेपाल महिला समितिका अध्यक्ष पवित्रा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुलगायतले मन्तव्य राखेका थिए ।





