बागलुङ/ श्री देवीबक्स गुल्मले नागरिक र सैनिक बीचको सम्बन्ध प्रगाड बनाउन एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उत्तरगंगा ढोरबराहा मन्दिरमा लागेको मेलाका अवसरमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा विषेशगरी हाडजोर्नी, बाथ, पेटको समस्या तथा भाईरल रोगहरुको खोजपड्ताल र उपचार गरिएको थियो । शिविरमा ९१ जना पुरुष, १ सय ५४ जना महिला र २१ जना बालबालिका गरी २ सय ६६ जनाले सेवा लिएका थिए ।
नागरिक र नेपाली सेनाबीच सम्बन्ध सुधार गर्ने र शिकार आरक्ष तथा सुरक्षार्थ रहेको सेनाका बिषयमा जानकारी गराउन शिविरको आयोजना गरिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र कँडेलले बताए ।
गुल्मका स्वास्थ्यकर्मीसहित बिषेशज्ञ चिकित्सकहरुले शिविरमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलव्ध गराएका थिए । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरुको स्वास्थ्य समस्या पहिचान गर्न शिविर सहयोगी भएको कँडेलले बताए ।
भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच कम भएको ढोरपाटन उपत्यका लगायत अन्य क्षेत्रका स्थानीय लाभान्वित भएको उनले बताए ।





