पर्वत/साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति पत्र बागलुङबाट जारी हुने गरेकोमा चार पाङ्ग्रे सवारीको अनुमति पत्र जारी गर्ने काम करिब ११ वर्षअघि रोकिएको थियो । बागलुङमा ‘ट्रायल’ दिने व्यवस्था नहुँदा चार जिल्लाका नागरिक पोखरा जाँदा समस्या हुनुका साथै पोखराको ‘ट्रायल’ सेन्टरमा समेत उच्च चाप हुँदा त्यसको व्यवस्थापनमा समस्या भएपछि बागलुङबाटै चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र दिने व्यवस्था पुनः सुरु गरिएको हो ।
चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ का लागि आवश्यक पर्ने भौतिक संरचना मापदण्ड अनुसार व्यवस्थापन हुन नसकेपछि २०६९ सालदेखि चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ हुन सकेको थिएन । चालक अनुमति पत्र लिने कुरामा भइरहेको समस्याका बारेमा प्रदेश सरकारमा समेत चर्चा पाएपछि बागलुङमा पनि चार पाङ्ग्रे सवारीको चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी थालिएको थियो । सोही अनुसार गत असारमा बोलपत्र आह्वान गरेर ‘ट्रायल’ का लागि मापदण्ड पूरा गरेकाहरूबाट आवेदन माग गरिएको थियो । प्रतिस्पर्धामार्फत बागलुङ नगरपालिका–१ रामरेखामा रहेको धौलागिरि ड्राइभिङ सेन्टर प्रा.लि.सँग सम्झौता भएको छ । कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नहुँदा निजी क्षेत्रसँग मिलेर ‘ट्रायल सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।
यातायात व्यवस्था कार्यालयले सकेसम्म यही सातामा नै ‘ट्रायल’ सञ्चालन गर्ने गरी आइतबारदेखि अनुमति पत्र लिन इच्छुकहरूलाई फाराम भर्नका लागि अनुरोध गरिएको निमित्त कार्यालय प्रमुख श्याम थापाले बताए । यससँगै दुई पाङ्ग्रे सवारी अन्तर्गत वर्ग (ए) र (के) को चालक अनुमति पत्र मात्रै जारी गर्दै आएको कार्यालयले वर्ग (बि) (सी) (इ) (एफ) र (जी) का सवारी चालक अनुमति पत्र पनि जारी गर्ने भएको छ ।
‘हिजोबाट फाराम खुला गरिएको छ। अबको एक हप्तामा ट्रायल सुरु गर्ने तयारीमा छौँ । इच्छुकहरूले हरेक दिन आवेदन दिन पाउनुहुन्छ । दैनिक रूपमा वर्ग अनुसार कति जनालाई प्रयोगात्मकमा सहभागी बनाउने भनेर कोटा निर्धारण हुन्छ, ट्रायल नियमित चल्छ’, उनले भने, ‘ट्रायल दैनिक रूपमा भने हुँदैन । मोटरसाइकल र स्कुटरको दुई दिन, हलुका सवारीको हप्ताको एक दिन चलाउने हो । तर चाप कम भयो भने रिट्रायल गर्न सक्ने अवस्थामा हप्तामा दुई दिन पनि चार पाङ्ग्रेको ट्रायल हुन सक्छ । ट्रायल दिन आउनेहरूको फलो हेरेर मात्रै कति र कुन दिनमा कुन वर्गको ट्रायल गराउने भन्ने निर्धारण गर्ने छौँ ।’
तत्कालका लागि भने ‘बी’ वर्गको हप्तामा एक दिन र अरू वर्गहरूको भने मागको आधारमा सञ्चालन गर्ने तयारी छ । चार पाङ्ग्रेमा ‘बी’ बाहेकका वर्गहरूको माग कम हुने भएकाले आवेदन लिँदै जाने र सङ्ख्या पुगेपछि ‘ट्रायल’ सञ्चालन गरिने निमित्त कार्यालय प्रमुख थापा बताउँछन् ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशमा हालसम्म कास्कीको पोखरा, तनहुँको डुम्रे र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा चार पाङ्ग्रे सवारीका ‘ट्रायल’ सेन्टरहरू रहेका थिए । बागलुङमा पनि सुरु भएसँगै अब प्रदेशका चार ठाउँबाट चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ दिन पाइने भएपछि पहिलेदेखि नै सञ्चालनमा रहेका ती वटा ‘ट्रायल सेन्टर’ मा पर्दै आएको चाप कम हुने भएको छ ।





