पोखरा/ पोखरामा सोमबारबाट बहुप्रतीक्षित बाघजात्रा सुरु भएको छ । जात्राहरुको पनि जात्राको रुपमा लिइने बाघ जात्रा पोखरा ३ नेवा छेँबाट सुरु भएको हो । पोखरा महानगरपालिका र नेवाः खल कास्कीको संयुक्त आयोजनामा २३ वर्षपछि पोखरामा बाघजात्रा निकालिएको हो ।
२०५७ सालयता पोखरामा बाघजात्रा हुन सकेको थिएन । संस्कृतिप्रेमीहरुको अगुवाइमा २३ वर्षपछि पुनः जागृत बनेको जात्रा उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर धनराज आचार्यले पोखराको संस्कृतिलाई जोगाउने दायित्व महानगरको पनि भएको बताए । उनले जात्राको निरन्तरताको उद्घोष गरे ।
बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले केही समयअघि आयोजित बाह्रभैरव नृत्यले पनि बाघजात्रा निकाल्न टेवा पुगेको बताए । बाघले मानिसहरुलाई दुःख दिएको र बाघ मार्नका लागि राजालाई विन्ति चढाएपछि बाघ मारेर उत्सव मनाउन सुरु गरिएको उनको भनाइ थियो । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा तायः मचा नृत्य प्रतियोगितासँगै बाघजात्राले पर्यटकलाई आकर्षित गर्ने बताए । उनले पर्यटकीय राजधानीमा यसरी सांस्कृतिक र ऐतिहासिक मेला आयोजना हुँदा पर्यटकको बसाइ लम्बिने र त्यसका लागि राज्यले पनि सोच्नुपर्नेमा जोड दिए ।
बाघ जात्राको पहिलो कुमारी, तायः मचा नृत्य, लाखे नाचसहित धनुष वाणसहितका बालबालिका, राजारानीसहित पोखराको विन्ध्यवासिनी, मोहरियाटोल, बागबजार, नदिपुर हुँदै पुनः नेवाः छे मा पुगेर सम्पन्न भएको थियो ।
मंगलबार गणेशटोल, सिर्जनाचोक, पृथ्वीचोक, महेन्द्रपुलहुँदै नेवा छे आउने छ । बुधबार बाघ मारिने छ । उक्त दिन तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, कुडँहरचोक, अमरसिंहचोक हुँदै पोखरा रंगशालामा पुगी कार्यक्रम समापन हुनेछ । बाघजात्रालाई सिन्दुरजात्रा समेत भनेर मनाइने गरिन्छ ।
तस्वीर: योगेन्द्र श्रेष्ठ





