बागलुङ/ कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् ।
नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै थापाले निर्वाचन अघि गरिएको गठबन्धनले कार्यकर्ताको साख गिरेको बताएका छन् । ‘जीवनभर कांग्रेस भएर हिडेकालाई अर्काको चिन्हमा मतदान गर्न लगाउँदा कांग्रेसजनमा निरासा छाएको छ’ उनले भने, ‘अब त्यस्तो हुँदैन, एक्लै लड्ने कांग्रेस बन्छ ।’ गत निर्वाचन अघिपनि थापाले फरक मत राखेर एक्लै लड्न चाहेको स्मरण गरेका थिए ।
उनले पार्टी भित्रको लोकतन्त्र बलियो बनाउन निर्वाचन पद्दतीलाई पनि परिवर्तन गर्ने बताएका छन् । चुनावका बेला नेताले टिकट दिने पद्दती सच्याएर कार्यकर्ताको मतबाट जितेकोले मात्र टिकट पाउने व्यवस्थापन गर्न महासमितिमा एजेण्डा लैजाने थापाको भनाइ छ । टिकटका लागि दाइ र भाउजुको चाकरी गर्नुपर्ने व्यवस्था बदल्न यो पद्दती ल्याउन खोजेको उनको भनाइ छ ।
आसन्न महासमितिको बैठकमा महामन्त्री थापाले उक्त एजेण्डा लगेर बिधान परिवर्तन गर्न पहल गर्ने बताएका छन् । १ सय ४ बर्षको राणा शासन र ३० बर्षको पंचायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको टिप्पणी गरे । ‘राजाबाट सार्वभौम सत्ता जनतामा ल्यायौं, तर पार्टी भित्रको प्रवृत्तिमा परिवर्तन भएन’ उनले भने, ‘जब कार्यकर्तामुखी कांग्रेस बन्छ तब पार्टीका नेता पनि जनमुखी बन्छन् ।’ थापाले आगामी महाधिवेसन समयमा गरेर एक बर्षभित्र क्रियाशिल सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी पद्दतीको विकास गर्ने बताए ।
उनले गत स्थानीय निर्वाचनको गठबन्धन लोकतन्त्रको आधारभूम मूल्य र मान्यता बिपरितको भएको पनि टिप्पणी गरे । ‘चुनावअघि गरिने गठबन्धनले लोकतन्त्रको मूल्य बिगार्छ’ थापाले भने, ‘चुनाव जितेर पनि कार्यकर्तामा निरासा आउनुको परिणाम पनि यही हो ।’ २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परेपनि कांग्रेसले गठबन्धन नगर्ने दाबी गरे । ‘सबै सिट गुमाएर चकटीमा बस्नुपरोस्, तर कार्यकर्ताको शिर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिंदैन’ उनले भने, ‘सबै कम्युनिष्ट मिलुन, स्वन्तत्र पनि मिलुन तर कांग्रेस एक्लै लड्छ ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने कांग्रेस बनाउने उनले दावी गरेका छन् ।
पार्टी र गुटको प्रतिनिधित्व गरेर गएका कांग्रेसका मन्त्रीप्रति पनि उनीहरुले कटाक्ष गरेका छन् । ‘अहिले मन्त्रीहरु बलिया छन्, किनकी गुटबाट गएका छन्’ उनले भने, ‘गुटको भजन गाएपछि उनीहरु टिकीरहन्छन् ।’ जवसम्म पार्टीको बन्दैनन् तब भने मन्त्रीले जनताको पक्षमा काम गर्न नसक्ने पनि उनको टिप्प्णी थियो । ‘राम्रो काम गरेमात्र तिमीहरु बस्छौं, नत्र फिर्ता आउँछौं भन्न नसक्दा मन्त्रीहरुले जागिर खाने स्थान मात्र बनेको छ’ थापाले भने, ‘पार्टीबाटै पद खाने तर कार्यकर्तालाई संरक्षण गर्न नसक्ने मन्त्रीदेखि वडा अध्यक्षबाट कार्यकर्ता रिसाएका छन् ।’ सके काम दिने, नसके काम गर्ने वातावरण बनाइदिने काम जनप्रतिनिधिको भएको उनले बताए । कांग्रेसी कार्यकर्तामा अहिले जनतालाई डेलिभरी दिने भन्दा चार बर्षपछिको चुनावमा हारिन्छ की जितिन्छ भन्ने डर पसेको भन्दै जनताको पक्षमा काम गर्दा हारेपनि जितेपनि केही फरक नपर्ने उनले सुझाव दिए ।
क्षेत्रीय सम्मेलनमा वडा वडाबाट आएका क्षेत्रीय प्रतिनिधि, जिल्ला र प्रदेश तहका पदाधिकारीसमेत गरी १ हजारबढी सहभागि भएको सभापति चण्डीप्रसाद शर्माले बताए । सम्मेलनमा सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरिने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।





