बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘सीपको जग बसे आम्दानी आँफै हुन्छ’

‘सीपको जग बसे आम्दानी आँफै हुन्छ’


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८०, बुधबार

बागलुङ/ चार महिना पहिलेसम्म जमुनाको हातमा सीप थिएन् । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्च समेत उनका श्रीमान एक्ला स्रोत थिए । स–साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना आँफै आफ्ठेरो मान्थिन् । तर अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आँफै कमाउँछिन् ।

बागलुङ बजारको एक टेलरिङ सेन्टरमा कालिगडको काम गरिरहेकी जमुना परियार नेपालीले सीप सिकेपछि आत्मनिर्भर भएकी हुन् । उनको अहिले मासिक कमाई हुन्छ । आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने भएकी छन् ।

‘आफ्नो कमाई हुँदा र नहुँदा धेरै फरक हुँदोरहेछ, चार महिना खर्चेर सिकेको सीपले मलाई आत्मनिर्भर बनाएको छ’ जमुना भन्छिन् ‘मत अरु धेरै दिदीबहिनीलाई काम सिक्नु र थोरै भएपनि कमाउन सकिन्छ भन्ने गरेकी छु ।’ उनले सीप सिक्नु भनेको घरको जग बसालेको जस्तै आम्दानीको जग बसेको बताईन् ।

जमुनाले धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिआईआरडिसी)बाट चार महिने टेलरिङ तालिम लिएकी हुन् । तालिमपछि उनलाई प्राबिधिक शिक्षा तथा व्यावसायी तालिम परिषद (सिटिईभिटि)ले सीप परीक्षा लिएर प्रमाणपत्र दिएको छ । त्यहि प्रमाणपत्रले उनलाई जागिर पाउन सहज भएको छभने चार महिना सिकेको सीपले काममा सघाएको छ ।

जमुनाजस्तै ‘डिआईआरडिसी’बाट तालिम पाउने कयौं महिलाहरुको जीवनमा बद्लाव आएको छ । लामो समयदेखि प्राबिधिक शिक्षा तथा व्यावसायि तालीम परिषदबाट सम्बन्धन लिएर बिभिन्न सीपमुलक तालिम चलाईरहेको संस्थाले कयौं युवाहरुलाई स्वरोजगारसँग जोडेको छ । २०७४ सालदेखि सीप कक्षा सुरु गरेको संस्थाले बर्षमा दुई सेशनमा कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

चालु बर्षको पहिलो सेसनमा ५ सय ६३ जनाले सीप सिके । १४३ जनाले प्लम्वर, ६५ जनाले विद्युत जडान, २५५ जनाले टेलरिङ र १ सय १ जनाले ग्रिल सम्बन्धि सीप सिकेका छन् । ‘सीप सिकेका धेरैले राम्रो गर्नुभएको छ, कयौं युवाहरु रोजगारीसँग जोडिनुभएको छ, कयौंले स्वरोजगार मुलक व्यवसाय थाल्नुभएको छ’ ‘डिआईआरडिसी’का कार्यक्रम संयोजक शालिग्राम शर्माले भने ‘विदेश जानेहरुलाई तालिमले निकै सहयोग गरेको छ ।’

सोमबारदेखि छैटौं व्याचको दोस्रो सत्रका लागि तालिम सुरु भएको छ । तालिममा ७२ जना युवायुवती सहभागि छन् । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले सीपले जीवनलाई उज्यालो बनाउने बताए । सीप भएको मान्छे संसारको जुनसुकै कुनामा बिक्ने भएकाले आम्दानीका लागि सीप अनिवार्य भएको बताए ।

कार्यक्रममा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासंघका सह–सचिव तारानाथ आचार्य, प्रशिक्षकहरु पार्वती परियार, दिनेश बिक, मुकुन्द पौडेलले बोलेका थिए । ‘डिआईआरडिसी’का उपाध्यक्ष तथा कार्यक्रम संयोजक शालिग्राम शर्माको अध्यक्षता, सचिव भुपाल चालिसेको सञ्चालन र सदस्य लक्ष्मी बास्कोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->