सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मुस्ताङी राजा बनेर थुब्तेनले बाघ मारे, अनि सकियो बाघजात्रा

मुस्ताङी राजा बनेर थुब्तेनले बाघ मारे, अनि सकियो बाघजात्रा


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८०, बिहिबार

पोखरा, २१ भदौ– पहिला पोखरा बजारको चारैतर्फ घनघोर जंगल थियो । जंगली बाघ, भालु जस्ता हिंस्रक जनावरले मानव वस्तीमा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्ने गर्दथे । कृषि पेशामा आबद्ध मानिसहरू बाघसँग लड्न भिड्न सक्दैनथे र स्वभावतः सहयोगका लागि राजासँग गुहार माग्नु पर्दथ्यो । साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावरले दुःख दिएको बिन्ती सुनाउँथे । राजा पनि जनतालाई सहयोग गर्न आउने गर्थे । तीन दिनसम्म मनाइने बाघजात्राको परिदृश्य नै यही हो । राजाले आफ्ना मन्त्रीगण र सेना लिएर बाघ को शिकार गर्न आएको कथनलाई नै चित्रण गर्ने गरिन्छ– बाघजात्रामा ।
शोधार्थी वीणा श्रेष्ठले पोखरा बजार क्षेत्रका नेवार समुदायले मनाउने चाडपर्व र जात्राको अध्ययन विषयमा तयार गरेको शोधपत्रमा पनि पोखराको बाघजात्राको उल्लेख गरिएको छ । शोधपत्रमा बाघजात्रा कसरी सुरु भयो भन्ने उल्लेख छ, ‘नेवार समुदाय बस्ने ठाउँमा बाघले दिनहुँजसो चराइरहेका बोका, बाख्रा, कुखुरा, गाई, भैँसी, आदिको विनाश गर्दै गए । टोलटोलका बालबालिकाहरु पनि आक्रमण गरेर मानवलाई आतंकित गर्दै गए । नेवार समुदायहरु चिन्तित हुन थाले । त्यसपछि बाघलाई मार्नुपर्छ भनेर शिकारी योग्य व्यक्ति (ढिकेग्वारा) लाई जिम्मा दिए । शिकारी ढिकेग्वाराले मार्न नसकेपछि झन नेवार समुदायहरु चिन्तित भए ।’
शिकारीले मार्न नसकेपछि नै उक्त समुदाय राजासामु बिन्ती बिसाएको उल्लेख छ । राजाले जनताहरुको दुख देखेर उक्त बिन्तीलाई स्विकार गरेर, रानी, भारदार, मन्त्री सैनिकहरुसँग सल्लाह गरि हातहतियार, धनुकाँड, भाला, खुकुरी सहित सक्दो सहयोग गरे र बाघलाई घेरा हालेर मारे ।
बाघलाई साँझपख नै किन मारियो त ? पुस्तकमा भनिएको छ, ‘बाघलाई कृष्ण अष्टमीको साँझ घेरा हालेर सैनिकहरुको सहयोगबाट घेरामा ल्याएर मारिएको थियो । किनभने, बाघ दुर्गा भवानीको वाहन भएकोले ज्योतिषको सल्लाह अनुसार साँझपख मारिएको थियो ।’ तर, पोखराका नेवार समुदायले बाघजात्रालाई निरन्तरता दिन सकेनन् । २०५७ सालमा अन्तिमपटक देखाइएको बाघजात्रा पुनः २०८० सालमा आएर सुरु भएको छ ।
संयोग कस्तो छ भने, २०५७ सालमा देखाइएको बाघजात्राका संयोजक थिए, जवाहरलाल श्रेष्ठ । उनै श्रेष्ठले अहिलको बाघजात्राको पनि संयोजकत्व गरेका छन ।
२३ वर्षसम्म पोखरामा बाघजात्राले निरन्तरता नपाउनुमो आर्थिक समस्या पनि रहेको छ । पोखराका जात्रा पर्व पुस्तकमा भनिएको छ, ‘यो बाघजात्रालाई व्यवस्थापन गर्न, निकाल्न, संरक्षण गर्न कुनै समिति गठन भएको देखिँदैन । पोखरामा पछिल्लोपटक २०५७ सालमा बाघ जात्रा प्रदर्शन भएको थियो । यो जात्रा कुनै संस्कृतिप्रेमीको पहलमा पहिला पनि टोलबासीको पहलमा निकालिने गरिन्थ्यो तर जात्रामा कुनै आम्दानी नहुने खाली खर्च मात्र हुने हुँदा आयोजकले चन्दा, सहयोग बटुल्नुपर्ने हुन्छ ।’
त्यतिबेला बाघजात्रा निकाल्दा पोखरामा विभिन्न टोलले सहयोग गर्ने गरेका थिए । बाघजात्रा निकाल्दा सबैभन्दा समस्या घोडाको पथ्र्यो । जात्राकै लागि भनेर तत्कालीन पर्यटनविद झलक थापाले आफ्नो घोडा नै दिएको पुस्तकमा उल्लेख छ ।
बाघजात्रामा राजारानी, मन्त्रीलाई सिंगारपटार गरी सजाइन्छ । राजा घोडामा चढेको दृश्य हुन्छ भने रानीलाई डोलीमा राखेर बोकाइन्छ । राजाका वरिपरि सुरक्षा गार्ड हुन्छन् । हसाँउने ख्यालीहरू हुन्छन् । मुख्य पात्रको रूपमा बाघलाई नै लिने गरिन्छ । बाघको छाला बोकेको अग्लो ठूलो जिउडाल भएको व्यक्ति बाघ बन्ने गर्छ । बाघ बनेका व्यक्ति सँगसँगै शिकारी पनि हिँड्छन् । त्यसपछि हात हतियारले सुसज्जित सैनिकहरू लाइन लाग्छन । मन्त्री, प्रधानमन्त्री घोडामा सवार गराइन्छ ।
विभिन्न हास्य कलाकारहरू आ–आफ्नै भेष प्रदर्शन गर्दछन । राँगो माथी चढेका यमराज देखिन्छ । २ जना घोडचरी नाच्दै हिँड्छन ।
यो जात्रालाई खुल्ला चौरमा समापन गर्ने गरिन्छ । जब शिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्दछन् । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्दछ । त्यही मौकामा राजाले बाघको छालामाथि बन्दूक चलाउँछ अनि जनताहरुले बाघको छालालाई हामीलाई दुःख दिने तैँ हैनस् भनेर आक्रोश पोख्ने गर्दछन् । बाघ मरेको उपलक्ष्यमा जनता खुशी हुन्छन् र हर्ष बढाईं गर्ने गरिन्छ र जात्रा विधिवत समाप्त भएको घोषणा गरिन्छ ।
२३ वर्षपछि पोखरामा निकालिएको बाघजात्रा भने मुस्ताङी राजा झिग्मे सिंगे पलवर विष्ट बनेर थुब्तेन छिरिङले मारे ।
सांस्कृतिक राजाको रुपमा उपल्लो मुस्ताङीले अझै पनि राजा मान्दै आएका छन । त्यही बुझेरै बाघजात्रा आयोजक समितिले पूर्वप्रदेश सांसद इन्द्रधारा विष्टसँग कुराकानी ग¥यो । समितिका सचिव सुनिल उलकका अनुसार उन (विष्ट) ले पोखरामा नै मुस्ताङका विद्यार्थी अध्ययन गर्दै आइरहेको हिमालयन बुद्धिष्ट एकेडेमीसँग कुराकानी गरे । यो एकेडेमीले मुस्ताङी राजारानीको ठाउँमा त्यहाँ अध्ययनरत कक्षा ९ का दुईजना विद्यार्थी पठायो ।
घोडामा राजाको रुपमा सवार भएका थुब्तेन छिरिङ र डोलीमा सवार यानछेन गुरुङ त्यही एकेडेमीका विद्यार्थी हुन । पोखरा अर्चलबोट हुँदै साँघुमुख रानीपौवा, शितवादेवी, मियापाटन हुँदै ¥यालीसहित पुगेको बाघजात्राको समापन पोखरा रंगशालामा गरिएको थियो ।मुस्ताङी राजालाई बाघजात्राको राजाको रुपमा देखाइएतापनि मुख्य पात्र बाघ भने पोखराको नालामुखकै ४७ वर्षीय सुरेश खड्की बनेका थिए । उनी गुरिल्लामाथि बरोबर आक्रमण प्रयास गर्छन् । शरीरभरि लहराको माला र लहराकै टोपी लगाएका १२ जना गुरिल्लाको मुखाकृति कोलोमोसोले चिनिँदैन । उनीहरू बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन । नेवारी संस्कृतिमा प्रचलित अनेकखालका बाजाको धुनले बाघ लट्ठ पार्ने प्रयास गरिन्छ ।
पोखरा रंगशालामा समापन कार्यक्रमको अन्त्यमा एउटा दृृश्य देखाइन्छ । शिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्दछन । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्दछ । त्यही मौकामा मुस्ताङी राजाले बाघको छाला माथि बन्दुक चलाए । आफूलाई दुख दिने बाघ म¥यो भनेर जनताले हर्षोंल्लास मनाए ।
२३ वर्षपछि आयोजित बाघजात्रा सकियो । मुस्ताङी राजाले बाघ मारे । समापन कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङले हिसं्रक बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गर्ने सन्देश दिदैँ अन्त्य भएको सुनाए ।
‘यो बाघजात्राको रुपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम ग¥यो भने जस्तो सुकै हिसांको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ त्यसलाई मार्न सहज हुँदैन । त्यही कुरा आज यहाँ देखाइदैछ,’ उनले भने, “देश समृद्धिमा नेवारी समुदायको भूमिका महत्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्तिसमाज बनाउने सन्देश दियो ।’
आयोजक समितिका सचिव सुनिल उलकले बाघजात्रा इतिहाससंग जोडिएको विषय रहेको सुनाए । बाघजात्रा सामान्य नरहेको उनको भनाइ छ । पोखरामा अहिले दुई जनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरुलाई बाजा सिकाइ बाजाको लोप हुनबाट जोगिएको बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->