बागलुङ/ सामाजिक एवं राजनैतिक ब्यक्तित्व क्यान्सर पीडित गणेश बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापाको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरिएको हो ।
मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) नामक रोगबाट पीडित थापाको उपचारको लागि करिब ८० लाख रुपैयाँ खर्च लाग्ने भन्दै थप उपचारको लागि सहयोग गर्न अनुरोध गरिएको हो । थापाको उपचारको लागि सहयोग जुटाउन गठित गणेश बहादुर थापा मगर उपचार सहयोग समितिले सहयोगका लागि अपिल गरेको हो ।
सहयोग समितिले बिहिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि आर्थिक सहयोगको लागि अनुरोध गरेको छ । विभिन्न संघसंस्थाको नेतृत्व गरेका थापालाई गम्भीर प्रकृतिको क्यान्सर लागेपछि चिन्तित बनाएको भन्दै देश विदेशमा रहेका दानीहरुलाई सहयोग गर्न अनुरोध गरिएको छ ।
गणेश थापा उपचार सहयोग समितिका संयोजक चन्द्र बहादुर थापा मगरद्वारा जारी गरिएको अनुरोध पत्रमा ‘रहर लाग्दो प्रगति, आदर्श मुल्य मान्यतामा गतिशिल बन्दै गरेको जीवनमा एकाएक गम्भीर रोगबाट ग्रसित बनेको सन्नाटा ल्याउने खबरले केवल एक व्यक्ति र परिवार मात्र होइन सिङ्गो समाज चिन्तित बनिरहेको’ उल्लेख गरिएको छ ।
उनको केही समय अघि काठमाण्डौको न्यूरो अस्पतालमा स्पाइनल कर्डमा (मेरुदण्ड) र २ वटा रिब्स (करङ) मा भएको ट्युमरको अप्रेशन गरेका थिए । अप्रेशनपछि पनि समस्या र रोगको संकेत देखिएपछि उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाण्डौ पुगेका थिए ।
त्यहाँ उपचार नहुने भएपछि भारतमा रहेको राजिव गान्धी क्यान्सर ईन्ष्टीच्युट तथा रिसर्च सेन्टरमा परीक्षण र परामर्श गर्न पुगेका थिए । त्यहाँबाट उनलाई भारतको चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचार गर्न सिफारिस गरिएको छ ।
पीडित थापाले आफु विरामी भएपछि करिब १० लाख रुपैयाँ खर्च भएको बताए । त्यसले पनि उपचार नपुगेको तर आफुलाई बाँच्ने रहर रहेको उल्लेख गर्दै सहयोग लागि अनुरोध गरे ।
‘हालसम्मको उपचारमा १० लाख रुपैयाँ खर्च भइसकेको छ, अझै नेपाली करिब ८० लाख रुपैयाँ चाहिन्छ भनेको छ’ थापाले भने, ‘मैले जुन कुरा चाहेको थिएन त्यहि कुरा भन्नु परेको छ, एक पटक मलाई सहयोग गरिदिनुस म बाँच्न चाहन्छु ।’ उनले सहयोगबाट आफुले नयाँ जीवन प्राप्त गर्ने बताए ।
‘मलाई एक पटक त अप्रेशन सम्भव छैन भनिएको थियो, अप्रेशन गर्दा एउटा मृगौला जान सक्छ, प्यारालाइसिस हुन सक्छ भनिएको थियो त्यसबेला आशा पनि मारेको थिएँ’ भावुक हुँदै थापाले भने, ‘सोधपुछ गर्दै जाँदा भारतको चेन्नइमा उपचार हुन्छ भन्ने थाहा भयो तर महङ्गो ! त्यहि पनि साथीभाईबाट सहयोग पाउँछु भन्ने आशाले सहयोगको हात फैलाएको छु ।’
नेकपा एमालेको जिल्ला उपसचिव रहेका थापा नेपाल मगर संघ बागलुङको दुई कार्यकाल अध्यक्ष बनेका थिए । रोटरी क्लब, नेपाल नेत्र ज्योति संघ लगायतका संघ संस्थामा पनि आवद्ध छन् । व्यवसायमा पनि संलग्न छन् ।
थापालाई सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाले ग्लोबल आइमएइ बैंक बागलुङ शाखामा उनकी श्रीमति गिता थापा मगरको नाममा रहेको खाता ०१२०७०१०२०७४८५ रकम जम्मा गर्न ससक्नेछन् । मोवाइल नं. ९८६७६४९१०० मा पनि सहयोग रकम रकमान्तर गर्न सकिने छ ।
सहयोगदाताले सहयोग समितिका संयोजक चन्द्रबाहादुर थापा मगरको मोवाइल नं. ९८५७६२१०८५, श्याम पुनको मोवाइल नं.९८५७६३४८१० र ९८६७६९३४७८ मा पनि सम्पर्क गर्न सक्नेछन, अपिलमा भनिएको छ ।





