पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनको लागि भन्दै केन्द्रिय सदस्य मोहन जंग थापाले तीन करोड रकम मागेको खुलाएका छन । यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टीको वेवसाइटमा उनको नाम मोहनबहादुर थापा उल्लेख छ ।
समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ रकम घुस मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्य नरहनेगरि कारवाही ग¥यो भने उनको पद पनि गएको थियो ।
श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै कोर टिमका लागि २ करोड चाहिएको बारेमा प्रसाइसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो ।
सोही कोर टिमका सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठले खुलाएका हुन ।
स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै श्रेष्ठले तीन करोड मागिएतापनि साढे २ करोडमा डिल भएको खुलाएका छन ।
दुर्गा प्रसाइसँगको अडियो प्रकरणबारे बोल्दै उनले भने, “अझैपनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिङ गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।”
दुर्गा प्रसाइसँग एकपटक कुराकानी भएको र त्यस कुराकानीमा आफूले मेडिकल क्षेत्रको मान्छे भएको हुँदा सहयोग गर्नुपर्छ भनेको बताएका छन । प्रसाइले नै सुनियोजित रुपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ ।
“एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ । तर, उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदोरहेछ, तपाइलाई मैले सहयोग गर्नुप¥यो के भन्नुहोस ।” श्रेष्ठले भने ।
उनका अनुसार प्रसाई आफैले सहयोगको कुरा अगाडि बढाएका हुन ।
मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापा लगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिनेगरि दुर्गा प्रसाइसँग कुरा भएको उनको प्रष्टोक्ति छ ।
तर, सुनियोजित तरिकाले पुरै संवाद बाहिर नल्याइएको दाबी उनले गरेका छन ।
“पैसाको कुरा चल्यो, त्यतिखेर मलाई पैसा चाहिएको पनि थियो । तर, २/२ करोड माग्ने हो भने त फर्काउनु पनि प¥यो नि त ।” श्रेष्ठले भने, दुर्गा प्रसाई मेरो दाई होइन, बा होइन, त्यसै मलाई पैसा त दिनुहुन्न । फर्काउने शर्तमा कुरा भएको थियो, अडियोमा त्यो फर्काउने शर्त छैन ।”
मन्त्री बाँडफाँटको बेलादेखि नै मोहनजंथ थापाले आफूलाई तपाई मन्त्री बन्दै हुनुहुन्छ भनेको र रकम पनि त्यही उपक्रममा मागिएको उनले खुलाएका छन ।
“किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाई दौरा सुरुवाल लगाएर तयार हुनुहोस, म्याडमलाई बोलाउनुहोस, आफन्तहरुलाई बोलाउनुहोस, भोलि मन्त्रीको सपथ लिनेवाला छ । तपाई रेडी हुनुहोस, ढुक्क हुनुहोस, तपाई मन्त्री बनिसक्नुभयो । तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँले माग्नुभयो ।” श्रेष्ठले भने ।
मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे २ करोडमा डिल भएको उनको भनाई छ ।
मोहनजंग थापाले पैसा मागिसकेपछि नै आफू जुगाडमा लागेको उनले स्विकार गरेका छन ।
उनले भने, “त्यसपछि म त एक किसिमले मन्त्री बन्ने भएँ भन्ने सोच भयो । ४०/५० लाख मसँग थियो र अरु थप मलाई चाहियो ।”
रवि लामिछानेको कोर टिम भनेर सार्वजनिक गरिएको अडियो मध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।
घण्टाघण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो, खै चेक ल्याइदेको, नभए तपाइको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो ।
सामाखुसी भित्रको कफिसमपमा मोहनसँग भेट भएको उनले खुलाएका छन । त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै ढाकाकुमारले रकमको डिल गरेका थिए ।
आफूलाई मात्र कारवाही भएको हुँदा अरुको प्रमाण पनि सार्वजनिक गरिदिने उनले चेतावनी दिएका छन । “म सँग प्रमाण छ, केही समयमा निकाल्छु ।” उनले भने ।





