बागलुङ/ पछिल्लो समय बागलुङमा आलु उत्पादन बढीरहेको छ तर भण्डारन क्षमता छैन । फलेको बेला थन्क्याउन नपाएपछि किसानले बारीबाटै आलु बेच्छन् ।
बिशेषगरी ताराखोला र ढोरपाटनका किसानले उचित भण्डारन अभावमा आलु राखेर मौका पर्दा बेच्न नपाएको बताए । ‘आलु त धेरै फल्छ, तर राख्ने ठाउँ छैन’ ढोरपाटन नगरपालिका–८ की थमसरा बिकले भनिन्, ‘बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।’ भण्डारन गर्न पाए आलुमा दोब्बर फाइदा कमाउने उनले बताइन् ।
ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि बर्षको ५० क्विन्टल आलु बेच्ने बताए । भदौ अन्तिम सातादेखि उनीहरुले आलु खन्छन् । सडकको सहज पहुँच नभएकोले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको उनले गुनासो गरे । भण्डारन अभावमा बर्षातमै आलु बेच्नुपर्ने बाध्यता पनि उनले सुनाए ।
ढोरपाटनको पाटक क्षेत्रमा हजारौं क्वीन्टल आलु उत्पादन हुने उनले बताए । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्यांकमा जिल्लाभर ३ हजार ५० हेक्टरमा आलु लगाईदा ५४ हजार ८ सय १० मेट्रिकटन फल्ने गरेको छ । तर आलुको बीउसमेत पर्याप्त भण्डारन अभाव छ ।
बीउ जोगाउन पनि किसानलाई कोल्ड स्टोर अभाव भएको हो । गत आर्थिक बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुइवटा बीउ भण्डार बनाउन सहयोग गरेको छ । परियोजनाको बागलुङ कार्यालय प्रमुख सुजित पौडेलका अनुसार ४ लाख रुपैयाँ अनुदान दिंदा किसानले ७ लाख सम्मको भवन बनाएका छन् । ढोरपाटन नगरपालिका–९ को नवी र फलेघरमा गरी दुइवटा स्टोरमा १३ मेट्रिकटन आलु भण्डारन गर्न सकिने गरी भवन बनेको बताए । तर भित्री डेकोरेसन गर्न बाँकी छ ।
रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले आफ्नो श्रमदान लगाएर भवन बनाएपछि केही आलु भण्डारन हुने आस गरेका छन् । स्थानीयले बीउ भण्डारनका लागि ती घर प्रयोग गर्ने योजना सुनाए । त्यसबाहेक परियोजनाले ताराखोलामा २१ लाख र स्थानीयको ४ लाख लगानी गरी २५ लाखमा भवन बनेर आलु स्टोर प्रयोगमा आएको स्थानीय ओमप्रसाद कंंंडेलले बताए ।
परियोजनाले निसीखोला र निसेल ढोरमा १०÷१० मेट्रिक टन क्षमताका तीन वटा बीउ भण्डार केन्द्र निर्माण गरेको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुइवटा भण्डारन केन्द्र बनेको हो । ती भण्डार केन्द्रमा किसानले आलुको बीउलाई राख्ने गरेका हुन् । उपभोग गर्ने आलु भण्डार गर्ने स्थान भने अझै अभाव छ ।
गलकोटमा भने स्याउ लगायतका अन्य फलफूलसमेत भण्डारन गर्नेगरी स्थानीय व्यवसायीले २ सय मेट्रिकटन क्षमताको स्टोर बनाएका छन् । गलकोट नगरपालिका–३ मा सिद्दभैरव समूहले २ करोड निजी लगानीमा १ सय मेट्रिकटन क्षमतको कोल्ड स्टोर र १ सय मेट्रिकटन क्षमताको स्टोर बनाएको हो । सुख्खा मौषमका लागि फलफूल र बर्षातमा आलु भण्डारन गरेर बजार पठाएको समूहका सदस्य महेन्द्र खत्रीले बताए ।





