पोखरा / १६ तोला सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक मोबाइल पसलबाट दुई जनालाई पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका-२ घर भई हाल पोखरा-१२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी र मोबाइल पसल संचालक २७ वर्षीय सुजन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत कास्कीमा मंगलबार चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
पोखरा-१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरभित्र आवासबाट सुनका गहना हराएको भनी जिल्ला प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धान गर्दा उक्त गहना सोही घरमा काम गर्दै आएकी चौधरीले चोरी गरेको खुल्न आएको बताइएको छ । चौधरीले चोरी गरेका गहना मोबाइल पसलमा लगेर लुकाइराखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।





