नवलपुर/ गण्डकी प्रदेशका उर्जा, सिंचाई, तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ठूला नेताको आड र सिफारिसमा योजना लिएर मन्त्रालय नआउन कार्यकर्तासँग आग्रह गरेकी छन् । नवलपुर सदरमुकाम कावासोतीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३औं वार्षिक साधारण सभामा प्रमुख वक्ताका रूपमा बोल्दै मन्त्री तिवारीले सो आग्रह गरेकी हुन् ।
‘मैले कतिपय नेताहरूले भनेको मानेको छैन, माफ गर्नुहोला ! नवलपुरबाट धेरै नेताहरू खानेपानी माग्न जानुभाथ्यो । जहाँ नेताहरूको पहुँच पुग्छ, जहाँ आफ्ना कार्यकर्ता छन् त्यही मात्रै खानेपानी र सिंचाईको योजना पुगेको देखियो,उनले भनिन्,‘कर्मचारीहरु जहाँ आफ्नो वरिपरि, घेरामा आफ्ना मान्छे छन् त्यहीँ लगेको देखियो ।’
उनले कुनै पनि सरकारमा पहुँच पु¥याउन नसकेका, उपयोग गर्न नसकेका जनताहरू मर्कामा परेको महसुस गरेको बताइन् । उनले भनिन्,‘साँच्चै भन्नुहुन्छ भने उपयोग गर्न नसकेका जसले गण्डकी प्रदेशमा जान सक्तैन, जसले स्थानीय तहमा पुग्न सक्तैन, जसले केन्द्रीय सरकारसम्म गएर पहुँच पु¥याउनै सक्तैन । ती जनता निराश छन् ।’
उनले माननीय र मेयरले लगेका सबै योजनामा रकम विनियोजन गर्न नसकेको बताउँदै निरीह जनताका योजनाहरुलाई प्राथमिकतामा राखेको जिकिर पनि गरिन् । ‘आँखामा आँसु राखेर अव केही हुन्छ कि भनेर मत दिएका ती जनताको आँसु पुछ्न सकिन भने मन्त्री हुनुको कुनै अर्थ छैन । म नेताको आँसु पुछ्न हैन आएको होइन,कार्यकर्ता र सामान्य गाउँमा बस्ने जनताको आँसु पुछ्न आएको हो ।’
प्रदेश सांसद विन्दु पौडेल पहाडीले राम्रो कामको जस दिन र अपनत्व लिने संस्कारको विकास गर्न जरुरी रहेको धारणा राखिन् । राप्रपाबाट समानुपातिक सांसद बनेकी पौडेलले आफूहरु विपक्षी बेञ्चमा बसे पनि सरकारलाई हरेक तहमा समर्थन गरेको बताइन् ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लाकै महत्व र गौरवको योजना नमूना सदरमुकाम स्थलमा प्रशासनिक भवन बनाउन नसकिएको अवगत गराउँदै ती भवन निर्माणमा प्रदेश सरकारले ध्यान दिनका लागि आग्रह गरे । संस्थाका अध्यक्ष दीपकराज लम्सालको अध्यक्षतामा साधारण सभाको उद्घाटन सत्र भएको थियो ।उद्घाटन सत्रमा बोल्ने स्थानीय वक्ताहरूले बढ्दो सहरीकरण, पानी स्रोतको स्थिति, सिचाइ समस्या, नदी खोलााले सिचाइ र खानेपानी पुर्वाधारमा बर्सेनी परिरहेको क्षति र नोक्सानी जस्ता विषयमा मन्त्रीसमक्ष अनुरोधात्मक ध्यानाकर्षण गराएका छन् ।





