बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यातायाता क्षेत्रको बिचौलिया अन्त्य गरौं: मन्त्री जुग्जाली

यातायाता क्षेत्रको बिचौलिया अन्त्य गरौं: मन्त्री जुग्जाली


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८०, बिहिबार

बागलुङ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले यातायात क्षेत्रको बिचौलीया अन्त्य गर्ने बताएका छन् । उनले गैरकानूनी काम गर्ने प्रवृत्ति ठप्प पार्ने बताएका छन् ।

बागलुङमा बुधबारदेखि शुरु भएको चारपाङग्रे सवारीको लाइसेन्स प्रयोगात्मक परीक्षाको उद्घाटन गर्दै मन्त्री जुग्जालीले आम नागरिक र यातायात व्यवस्था कार्यालयको निगरानीमा सुशासन शुरु हुने बताए । ‘पहिला यातायात क्षेत्र भनेपछि भ्रष्ट क्षेत्र भन्ने छाप परेको छ, यो अब हट्नुपर्छ’ उनले भने, ‘आम नागरिकले चासो राखिरहेका छन्, कर्मचारी र जनप्रतिनिधि तथा यातायात क्षेत्रका सरोकारवाला मिलेर अनियमितता रोक्नुपर्छ ।’ त्यसका लागि लाइसेन्स बितरणदेखिकै सुशासन शुरु गर्ने उनले बताए ।

यातायात क्षेत्रमा बिचौलिया रोकेर आम सेवाग्राहीले आँफै सेवा पाउने र क्षमताको आधारमा लाइसेन्स लिने व्यवस्थाले देशको दुर्घटना न्युनिकरणमा पनि सुधार हुने उनले बताए । फलानो स्थानमा लाइसेन्स सजिलै पाइन्छ भन्ने सन्देश गयो भने नराम्रो हुने भन्दै उनले ट्राफिक र यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा ड्राइभिङ स्कुलका प्रतिनिधिलाई चेतावनी दिए ।

एघार बर्ष अघिदेखि बागलुङमा चारपाङग्रे सवारी साधनको लाइसेन्स बितरण रोकिएको थियो । आवस्यक पूर्वाधार र मापदण्ड नपुग्दा २०६९ सालदेखि रोकिएको परीक्षा बुधकारदेखि शुरु भएको हो । जुग्जालीले यो अभियान अब नरोकिने भन्दै साबिकको धौलागिरि क्षेत्रका जनताले अब सहज महसुस गर्ने पनि बताए ।

गण्डकी प्रदेशले बागलुङ, पोखरा, डुम्रे र नवलपुरको कावासोतीमा गरी ४ स्थानमा परीक्षाको व्यवस्थापन गरेको उनले जानकारी गराए । सवारी लाइसेन्स परीक्षा संचालन तथा व्यवस्थापन मापदण्डले तोकेको पूर्वाधार अभावमा रोकिएको परीक्षा मापदण्ड पु¥याएर संचालन भएको हो । यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आब्हान गरेकोमा पूर्वाधार पुगेका नीजि क्षेत्र नभेटिएपछि फेरी दोश्रो पटक आब्हान गर्दा धौलागिरि ड्राइभिङ सेन्टर प्रा.लि. मापदण्ड पुगेको भेटिएको हो । कार्यालयले सम्झौता गरेर परीक्षा शुरु भएको हो ।

बुधबारको परीक्षामा १ सय १० जनाले बी समूहको ट्रायल परीक्षा दिएको कार्यालयका प्रमुख पारसिंह थापाले बताए । ‘अब नियमित रुपमा ट्रायल हुनेछ’ थापाले भने, ‘पोखरा वा बिरगञ्ज जाने समस्या हट्छ ।’ चारपाङग्रे भित्रका बी, सि, इ, एफ र जी समूहको परीक्षा बागलुङमै हुनेछ । यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भैरहेको थियो ।

बागलुङ नगरपालिका वडा नं. १ को माझी बस्तीमा रहेका ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा संचालन गर्ने गरी सिसि क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको व्यवस्थापन गरिसकेको कार्यालयका अधिकृत श्यामकुमार थापाले बताए ।

कार्यालयका प्रमुख पारसिंह थापाको अध्यक्षता, श्यामकुमार थापाको संचालन र तुलसीराम कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पत्रकार महासंघका सचिव बिजय राना र इन्जिनियर सविना पुनले मन्तव्य राखेका थिए ।

मन्त्री जुग्जालीलाई नगरपालिकाको स्वागत

मन्त्री जुग्जालीलाई बागलुङ नगरपालिकाले स्वागत गरेको छ । मन्त्री भएपछि पहिलो पटक नगरपालिकामा आएका जुग्जालीलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहितका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन् । उक्त अबसरमा पूर्वाधारको क्षेत्रमा मन्त्रालयले नगरसँग साझेदारी गर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले साबिकको धौलागिरिका ४ जिल्ला समावेश हुने गरी पर्यटन, पूर्वाधार र अन्य बिकासका साझा कार्यक्रम बनाउन मन्त्रीलाई आग्रह गरे । उनले चार जिल्लाको साझा गुरुयोजना बनाउने अभियान थाल्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->