पोखरा/ एसओएस हरमन माइनर गण्डकीमा ५९ औँ राष्ट्रिय बालदिवस मनाइएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस हर्मन बालक्लबकी अध्यक्ष नीलिमा पौडेलले गरेकी थिइन् ।
बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको थियो ।प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।
विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन सङ्गीतज्ञ परबिन्दर सिंह तथा हिमाली सांस्कृतिक परिवार पोखराका वरिष्ठ नृत्यकारद्वय सङ्गीता आले र विक्रम थापाले गरेका थिए । कार्यक्रमका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि सुशीला सिम्खडा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।
समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । एसओएस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू प्रेरिका बराल, अञ्जु अधिकारी, आसिका बराल र रबिनालामिछानेले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।





