बागलुङ / गण्डकी प्रदेशकै पुरानो कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न गरेको छ । वि.सं.२०३२ साल असार २६ गते स्थापना भएको सो सहकारीमा अन्य ४ वटा सहकारी एकीकरण भएपछिको छैठौं साधारणसभा शनिवार सम्पन्न गरेको हो ।
सहकारीले साधारणसभाको अबसरमा जेष्ठ शेयर सदस्यलाई वृद्ध भत्तासहित सम्मान गरेको छ । ७० बर्ष पुगेका सबै जेष्ठ सदस्यलाई सम्मान सहित बार्षिक भत्ता वितरण गरेको हो । ४१ जना जेष्ठ शेयर सदस्यलाई बार्षिक १२ सय रुपैयाँका दरले जेष्ठ नागरीक भत्ता वितरण सहित सम्मान गरिएको अध्यक्ष हिमाल प्रसाद शर्माले वताए ।
सहकारीको साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सहकारीहरु आमगरिब जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताए । जनताले दुःख गरेर कमाएको पैसा जम्मा गर्ने, आबस्यक पर्दा झिक्ने गरेर चल्ने सहकारीको पैसा हिनामिना गर्ने गरी कुदृष्टी राख्न नहुनेमा जोड दिए ।

कालिका सहकारी संस्थाका अध्यक्ष हिमाल प्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष गीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा संरक्षक कृष्णराज शर्मा, सल्लाहकार हरिनारायण गौतम, मोहनलाल शर्मा, श्रीप्रसाद शर्मा, देवबहादुर श्रेष्ठ, काजी गाउँले श्रेष्ठ, लक्ष्मी बास्कोटा तथा नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा शेयर सदस्यका छोराछोरीबाट उत्कृष्ठ अंक ल्याएर स्नातक उत्तिर्ण गर्ने सजिना शर्मा, रिया शर्मा र संगीता खड्कालाई पुरस्कारसहित सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ठ बचतकर्ता, कारोवारी, बाल बचतकर्ता र कर्मचारीलाई पनि सम्मान गरेको थियो ।
साधारणसभाले सचिव चालिसेले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रेशम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक राजकुमार पौडेलले प्रस्तुत गरेको लेखा सुपरीक्षण प्रतिवेदन सुझावसहित पारित गरेको सचिव चालिसेले वताए ।

पछिल्लो समय बागलुङमा शिव शिखर र इमेज बचत तथा ऋण सहकारी संस्थामा अरबौं रकम हिनामिना भएपछि आम नागरिकमा सहकारीप्रति अविश्वास पलाएको थियो । केही दिनदेखि सहकारीले आफ्नो साधारणसभा गरेर कारोवार देखाउन थालेपछि भने केही आशा पलाएको सर्वसाधारणले बताउन थालेका छन् ।





