शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एडीबी प्रमुख र पोखराका मेयरबीच भेटघाट, दीगो पर्यटन विकास परियोजनाबारे छलफल

एडीबी प्रमुख र पोखराका मेयरबीच भेटघाट, दीगो पर्यटन विकास परियोजनाबारे छलफल


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८०, आइतबार

पोखरा/ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पोखरामा सहरी पूर्वाधार र जीवन सुधार परियोजना संचालनमा आएको छ । एडीबीले पोखराको दीगो पर्यटन विकासको क्षेत्रमा पनि लगानी गरेको छ ।

हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआइए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि एडीबीले ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्टहरू स्थापना, होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ संग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्चेको छ भने ।

एडिबी कै सहयोगमा लेक टु लेक साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ । परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअनतर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ । इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन् । यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन् ।

शान्ति बन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोडलगायत निर्माण हुनेछ ।

अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिका वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागु गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म १.५ किलोमिटर सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ ।

यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भैसकेको छ । यस परियोजनाको लागि २ मिलियन अमेरिकी डलर खर्च हुनेछ । यति ठूलो परियोजनालाई सघाएको एडीबीले पोखरा महानगरपालिकालाई समयमै काम सुरु र सम्पन्न गर्न घच्घच्याइ रहेको छ । यही उपक्रममा शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । घेटका क्रममा निर्देशक सुलेमानले परियोजना संचालनका विषयमा चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->