बागलुङ / गुठी युवा क्लवको आयोजनामा बागलुङ चिप्लेटी वसपार्कमा सुरु भएको दोस्रो तीज मेला जारी छ । बागलुङ नगरपालिका- ३ वडा कार्यालयको सहआयोजनामा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम र कलकारहरुको प्रस्तुती सहित हिजोदेखि मेला शुरु भएको हो ।
दुई दिनसम्म संचालन हुने मेलाको गण्डकी प्रदेशका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चम्पादेवि खड्काले उद्घाटन गर्दै हरेक पर्वलाई संस्कृति संरक्षणको रुपमा मनाउन आवश्यक रहेको बताइन् । चाडपर्व मनाउने नाममा भएका बिकृति बिसंगतिको अन्त्यका लागि पर्वको अवसरमा आयोजना हुने कार्यक्रमले सकारात्मक सन्देश दिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बानपा- ३ का वडा अध्यक्ष लक्ष्मण केसी सनी, वडा नम्वर २ का अध्यक्ष सुरज बोसेल, कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवि खड्का र भष्ट्रचार बिरुद्ध नागरिक निगरानी संस्थाका उपाध्यक्ष एकबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष उमेशलाल मिजारको अध्यक्षता, सचिव सुवास रुचालको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो । मेलाको अवसरमा नृत्य प्रतियोगिता, तीज गीत प्रतियोगिता सहित कलकारहरु कृष्ण अखेली, चिना थापा, पुस्कर बिवेक थापा, सिम्रन परियार, अमृता परियार, रवि कार्की लगाएतका कलकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
दोहोरीगीत प्रतिष्ठानको कार्यक्रम सकियो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले आयोजना गरेको खुल्ला तीज गित प्रतियोगितामा बलेवा स्थित डनसाइन एकेडेमि प्रथम भएको छ ।
‘हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ दुई दिन सम्म बिभिन्न कार्यक्रम गरि मनाएको तीज मेला २०८० को दोस्रो दिन भएको खुल्ला तीज गीत प्रतियोगितामा बानपा- १२ स्थित डनसाइन एकेडेमीले प्रथम भएको हो ।
११ समुहको सहभागीता रहेको प्रतियोगिताबाट छन्त्याल आमा समुह द्धितीय, मेलमिलाप महिला समुह तृतीय, गौरीधाम सत्संग महिला समुह सान्त्वना भएका थिए भने शान्ति टोल आमा समुह उत्कृष्ट गायनको रुपमा पुरस्कुत भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, सान्त्वना र उत्कृष्ट गायनलाई क्रमश, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।





