बागलु/बरेङ गाउँपालिकाले बजार अनुगमन थालेको छ । चाडपर्वका बेला कालोबजारीको जोखिम हुने भएकाले दशैं सुरु हुनु एक महिनाअगावै गाउँपालिकाले उपभोग्य बस्तुको अनुगमन थालेको हो ।
बजारमा म्याद नाघेका सामग्री बिक्री हुन नदिन र चाडपर्वका बेला महंगी नियन्त्रण गर्न अनुगमन थालेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । अनुगमनका क्रममा बजारमा म्यान नाघेका खाद्यबस्तु बिक्री भैरहेको पाईएको थियो ।
मूल्यसुची टाँस नगरिएको, दर्ता र नविकरण समयमा नगरिएको, सामान खरिदको पसलबाट पान, भ्याट बिल नलिएको, बिनाअनुमति मदिराजन्य पदार्थ बिक्री वितरण गरेका पाईएकोले नियमानुसार कारवाही गरिएको गाउँपालिकाले जनाएको छ ।
कतिपय पसलहरुमा मिति गुज्रिएका उपभोग्य खाद्य सामान पाईएकाले गाउँपालिकाले ती खाद्य सामाग्री जफत गरेको छ । फरक मुल्य पर्ने खाद्यबस्तुहरु वडा कार्यालयलयहरुको रोहवरमा जफत गरिएको थियो । गाउँपालिकाले बिक्रेतालाई सचेतसमेत गराएको छ ।
म्याद गुज्रिएका खाद्य वस्तुमा सुजी, आँटा, मैदा, खाने तेल, पेय पदार्थ लगायतका सामाग्री थिए । उक्त सामान उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यक प्रक्रिया पुरा गरेर नष्ट गरिने अनुगमनका संयोजक गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनले बताए ।
पुनले व्यापारी तथा उपभोक्ताहरुलाई स्वास्थ्यको ख्याल राख्दै म्याद गुज्रिएका सामान खरिद बिक्रीमा ध्यान दिन आग्रह गरे । चाडपर्व नजिकिएको बाहनामा म्याद गुज्रिएका सामान बिक्री बितरण गर्ने गरेको पाईएमा कानून बमोजिम कार्यवाही गरिने पनि उनले बताए ।
उपाध्यक्ष पुनको संयोजकत्वमा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रमुख प्रशासकिय अधिकृत जितबहादुर राना, वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारहरुको उपस्थितीमा बजार अनुगमन गरिएको हो ।





