बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगा– बलेवा खण्ड कलोपत्रका लागि स्तरोन्नतीको धमाधम भैरहेको छ । करिडोरको दश किलोमिटर उक्त खण्ड स्तरोन्नतीको जिम्मेबारी लिएको निर्माण कम्पनी बर्खा नसकिँदै धमाधम काम थालेको हो ।
मालढुंगा–बलेवा खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो ।
कोरिडोर गैंडाकोट–राम्दी–मालढुंगा सडक आयोजना पाल्पाले मालढुंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रेको काम गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मकोे १४ किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा छ ।
चालु आर्थिक बर्षमा यो खण्डको कालोपत्रे सकिने आयोजना कार्यालय पाल्पाले जनाएको छ । बागलुङको मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किमी सडक कालोपत्रेका लागि संरचना बनाउने काम धमाधम भैरहेको छ । निर्माण व्यवसायी खड्का कृष्ण जेभीले सम्झौता गरेर बिडारी निर्माण सेवालाई कामको जिम्मेबारी दिएको थियो । ‘ हामिले कामको जिम्मेबारी पाएको छ महिनाको अबधिमा २५ प्रतिशत काम सकेका थियौं, चालु बर्ष सुरु भएपछि बर्खा नसकिँदै काम थालेका छौं, भौतिक प्रगति ३५ प्रतिशत पुगिसकेको छ’ बिडारी निर्माण सेवाका सञ्चालक ध्रुव बिडारीले भने ‘आउँदो चैत बैशाख महिना सम्म प्रभावित क्षेत्रका सर्वसाधारण कालोपत्र सडक देख्न पाउनुहुने छ ।’ दुई बर्षको समयावधी पाएको कम्पनीले निर्धारित समयमा काम सक्नेगरी संरचना निर्माणको काम गरिरहेको बिडारीले बताए ।
‘अहिले सात वटा मेसिन र दुई सय जना मजदुरले काम गरिरहेका छन्, कुनै अबरोध नआए काम समयमा सक्न समस्या छैन्’ बिडारीले भने ‘प्रभावित क्षेत्रका वडाअध्यक्षहरुले सहयोग गर्नुभएको छ, अरु सम्बन्धित पक्षले खुलेर सहयोग गर्नुभएन् ।’ मालढुंगा–बलेवा खण्डको काम समयमा सक्न चौतर्फी दवाव समेत छ । यो खण्ड कालोपत्र हुँदा बलेवा बिमानस्थल सञ्चालनमा आउने र जिल्ला दक्षिण क्षेत्रले बर्खा याममा दव्ल्याङको पहिरोका कारण पाएको दुःख समेत कम हुने गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदी बताउँछन् ।
‘बजेटको अभाव छैन्, निर्माण व्यवसायले काममा उत्साह देखाउनु भएको छ, हामि सबैहिसावले सहयोग गरेर समयमा काम सक्नुपर्छ भन्नेमा छौं’ सुवेदीले भने ‘कालिगण्डकी करिडोरको मुख्य खण्ड भएकाले यो खण्डको चौतर्फी महत्व छ ।’ बलेवा बिमानस्थलदेखि हर्मिचौरसम्म सबैभन्दा लामो दुरीको खण्ड छ । ४४ किमी खण्डमा एकै पटक काम सुरु भएको हो । यो खण्डमा पनि काम भैरहेको छ ।
करिडोरले सदरमुकाम बागलुङ बजारदेखि बलेवा क्षेत्र र जैमिनी नगरलाई प्रभाव पार्छ । यो सडक कालोपत्रे हुँदा जिल्लाको दक्षिण क्षेत्रलाई बुटवल भैरहवाहुँदै भारतीय नाका पुग्न सहज हुने स्थानीय बताउँछन् । बागलुङ र गुल्मीको केही क्षेत्र मात्रै समेट्ने ५४ किलोमिटर खण्ड कालोपत्र गर्न झण्डै पाँच अर्ब रुपैयाँ खर्च हुँदै छ । दश किलोमिटर खण्ड खड्का कृष्ण जेभीले दुई बर्ष र ४४ किलोमिटर खण्ड कालिका कन्ट्रक्सनले तीन बर्ष भित्रमा कालोपत्रे सक्ने सम्झौता छ ।
“करिडोरमा भैरहेको कामले छिट्टै कालोपत्रे सडकको यात्रा गर्न पाउँछौं” जैमिनी–८ छिस्तीका राजेन्द्र शर्मा भन्नुहुन्छ, “बागलुङ–गुल्मीसँग जोडिएको छिस्ती पुग्न सडकले सहज बनाउँछ ।”
कालीगण्डकी करिडोरको निर्माण भएसँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन् । करिडोरले रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बागलुङ जोडेको छ । कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई जोडेर चीन र भारत जोड्ने भएकाले सर्वसाधारण उत्साहित भएका हुन् ।
करिडोरको बागलुङ मालढुंगादेखि बुटवलसम्मको सबै खण्डमा काम चलिरहेकाले अबको डेढ बर्षमा कालोपत्रे सडकमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ । कुल ४३५ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको मालढुंगा–बेनी–जोमसोम सडकखण्डअन्तर्गत ११० किलोमिटर सडक पर्छ भने बाँकी सडक गैंडाकोट–राम्दी–मालढुंगा खण्डमा पर्छ ।
करिडोरहुँदै पालिका मुकाम र गाउँ बस्तीमा पुग्ने सडकको स्तरोन्नतीमा समेत स्थानीय तहले ध्यान दिन थालेका छन् । करिडोर कालोपत्रे हुँदा पहुँच मार्ग बिस्तार गरेका स्थानीय तहहरुका मुकाममा कालोपत्रे सडक पु¥याउन सहज हुनेछ ।





