कास्की/ पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफनो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । कार्यक्षेत्र प्रवेशअघि पोखरा महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले नगर प्रहरीहरुलाई अनुशासित, इमान्दार, जिम्मेवार र धैर्यतापूर्वक काम गर्न निर्देशन दिएकी छन् ।
तपाईहरु नगर प्रहरी बन्न धेरै परीक्षा पास गरेर आउनुभएको छ । फेरि पनि यहाँहरुको पाइला–पाइलामा परीक्षा सुरु भएको छ,’ उनले भनिन्,‘त्यसैले अनुशासन, इमान्दारिता जिम्मेवार र धैर्यतालाई ध्यानमा राखेर काम गर्नसके अब्बल राष्ट्रसेवक बन्नु हुनेछ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नियम बमोेजिम गरेका काममा महानगरले संरक्षण गर्ने र कानुन विपरित गरे काबाही हुने बताए ।
कार्यक्रममा पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरीको काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराएका थिए ।





