बागलुङ/ धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । अस्पतालले हालै खरिद गरेको मेसिनको उद्घाटन भएसँगै सेवा सुरु भएको हो ।
‘सीटी स्क्यान’ मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी छन् । धौलागिरी अस्पताललाई गण्डकी प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री सिंखडाले बताईन् । सर्वसाधारण साथ र प्रदेश सरकारका दिर्घकालिन प्रभाव राख्ने काम कारवाहीले मात्रै अस्पतालको सेवा प्रभावकारी हुने उनको धारणा थियो ।
‘अस्पतालको पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा आएको बजेट प्रिज जानु हुँदैन्’ उनले भनिन् ‘अस्पताल दुई सय बेडमा स्तारोन्नती गर्ने काम भैरहेको छ, छिट्टै काम पुरा हुन्छ ।’ उनले अस्पताललाई शिक्षण अस्पतालमा विकास गरिने बताइन् ।
‘पछिल्लो समय डाक्टर कुट्ने, लखेट्ने तथा धम्की दिने क्रियाकलाप बढेका छन्, यस्ता कार्य कानून विपरित र खेदजन्य छन्’ मन्त्री सिंखडाले भनिन् ‘डाक्टरलाई बिना कारण दुख दिनेहरुलाई कानूनी दायरामा ल्याउनुपर्छ ।’
मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले नागरिकका गुनासोलाई सम्बोधन गर्दै काम गर्न आग्रह गरे । बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले साबिकको धौलागिरीको मुटुको रुपमा रहेको धौलागिरी अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड डा. रवि रञ्जन प्रधानले सीटी स्कानको बारेमा बताएका थिए । उनले नागरिकले आफुलाई मनलाग्दो तरिकाबाट सीटी स्कान गर्दे भन्न समेत आउने गरेको बताउँदै त्यस्तो गर्न नहुने बताए । ‘सीटी स्कान गर्नुपर्छ वा पर्दैन भन्ने कुरा डक्टरले भन्नुहुन्छ, त्यहि आधारमा सीटी स्कान गर्नुपर्छ’ उनले भने– ‘अनावश्यक रुपमा सीटी स्कान गर्न लाग्यौँ भने त्यसले क्यान्सर रोग लाग्ने सम्भावना पनि हुन सक्छ ।’
करिब ७ करोड रुपैयाँ लागतमा सीटी स्कान मेसिन जडान गरिएको हो । सीटी स्क्यान मेसिन जडान गरिएपछि शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान बागलुङबाट हुने छ ।
‘सीटी स्क्यान जडान भएपछि विभिन्न जटिल प्रकारका रोगको पहिचान र निदान यहिँ हुने छ, यसले अस्पतालमा बिरामीको चाप थप बढाउने छ ।’ उनले भने ‘हालको अनुपातलाई हेर्दा महिनामा ६०÷७० जना बिरामी थपिनेछन् ।’ बागलुङमा सीटी स्क्यान नहुँदा जटिल प्रकृतिको रोगको निदानको लागि पोखरा, काठमाण्डौं जान बाध्य छन् ।





