पोखरा/ सिजनको समयमा ठप्पजस्तै भएको पोखरामा एकै पटक ६ सय ३० जना भारतीय धार्मिक पर्यटन आएका छन् ।
१३ दिन नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटनको जम्बो टोली मुक्तिनाथ दर्शनका लागि आएका हुन् । भारतको गुजरातलगायतको क्षेत्रबाट नेपालमा १३ दिनको भ्रमणमा निस्केको उक्त टोली आज (आइतबार) मुक्तिनाथ मन्दिर दर्शनको लागि मुस्ताङतर्फ प्रस्थान गर्दैछन् ।
नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ठुलो संख्यामा पोखरासहित यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न टोली आएको पोखराका एक होटल व्यवसायी अर्जुन खनालले बताए । होटल मझेरी रिसोर्ट र नेभिरा होटलले उक्त पर्यटकहरुलाई पोखरामा आवासीयसहितको व्यवस्थापन गरेको खनालले बताए । मझेरी रिसोर्टका अध्यक्षसमेत रहेका खनालले पोखरामा ठुलो सङ्ख्यामा पर्यटक भित्राउन पनि आफुहरुले विगत ४ महिना अघिदेखिको तयारी थालेको सुनाए । उक्त टोलीलाई पोखरामा करिब ४ दिनको बसाइको व्यवस्था मिलाएको उनले बताए ।
आज ५४ जना हवाई मार्ग र अन्य पर्यटक करिब एक सय वटा स्कोरपियो गाडीमा मुक्तिनाथ प्रस्थान गर्ने भएको छ । भारतका मात्र नभइ मुल घर भारत भइ पेशा र व्यवसायको दृष्टिले विश्वका विभिन्न मुलुकमा रहेका स्वामीका अनुयायीहरु एक भई यसरी धार्मिक पर्यटन प्रवद्र्धनमा निस्केको हो ।
उक्त टोली लुम्बिनीमा जानकी मन्दिरको दर्शनपछि, काठमाडौं लगायतको ठाउँमा भ्रमण पश्चात शुक्रबार पोखरा आएको हो । कोरोना र आर्थिकमन्दीको कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उक्त टोलीको आगमनले गण्डकी प्रदेशको राजधानि पोखरासहित समग्र नेपालकै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नेभिरा होटलका संचालक राजु अधिकारीले बताए । भारतको गुजरातका चर्चीत स्वामी जितेन्द्रिय प्रियदासजी महाराजले शनिबार पोखराका पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । परापूर्वकालदेखि नेपाल र भारतको सम्वन्ध प्रगाड रहेको उल्लेख गर्दै उनले नेपालको अधिकांश क्षेत्र तीर्थभूमि भएको दाबी गरे ।
विश्व हिन्दु महासंघ नेपालका सह–अध्यक्ष शंकर खरालले नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकोले यसको प्रचार प्रसार छिमेकी मुलुकबाट सुरु गर्नुपर्ने बताए । राज्यले नेपालको धार्मिक पर्यटनको महत्व बुझ्न नसकेको दाबी गर्दै उनले राज्यले यस क्षेत्रमा न्यून लगानी गरेको गुनासो गरे । नेपाल अध्यात्मिक पर्यटनको केन्द्र हुने सहअध्यक्ष खरालको भनाइ छ ।





