शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धौलागिरीको जंगलमा देखिन थाले दुर्लभ रेडपाण्डा

धौलागिरीको जंगलमा देखिन थाले दुर्लभ रेडपाण्डा


  • हरिकृष्ण गौतम
  • असोज १८ २०८०, बिहिबार

म्याग्दी/ पश्चिम म्याग्दीको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा(हाब्रे) देखिन थालेको छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङको जलजला जंगलमा रमाइरहेको अवस्थामा यूवा सुवास थापाले दृष्य लिएका छन् । लजालु स्वभाव रहेको रेडपाण्डाले पदैलयात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब २ मिनेट ९ सेकेण्डको भिडियोमा देखिन्छ । करिब ७ वर्ष विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत् रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । अनुसन्धानकर्ता बन्द्री पाण्डेल लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखेका थिएनन् ।

रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालिन समयमा जिल्ला बन कार्यालय तथा स्थानीयबासीसँगको सहकार्यमा गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामुलक कार्यक्रम सहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुइमा झर्ने गरेको रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भएपनि देखिन छाडेका थिए । गुर्जा र लुलाङको जंगलमा रहेका रेडपाण्डाको गणना नभएपनि प्रसस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा समुदायस्तरमा गरिएको अभियान प्रभावकारी भए पनि नियमित कार्यक्रम नहुँदा समस्या भएको थियो ।

सर्वसाधारणले रेडपाण्डाको भिडियो खिचेपछि धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामुलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,रेडपाण्डाको अनुसन्धानका लागि गन्तब्य बनाउने अवसर पनि हो’अध्यक्ष पुनले भने । रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन,जनचेतनामूलक कार्यक्रम,वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा मा पर्याप्त छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरीशिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->