पोखरा/ गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहीबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन,अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् ।
स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गरेका उनले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गरेका छन् । दरौँ सिरुबारी माझकटेरी… लगायतका म्युजिक भिडियोमा समेत उनको अभिनय हेर्न सकिन्छ ।तारासँगै बेलायत यात्रामा सहभागी डा. चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।





