बागलुङ/दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाइने भएको छ ।
शुक्रबार दलित संग्रहालय तथा अध्ययन अनुसन्धान केन्द्र स्थापनार्थ प्रारम्भिक अबधारणा प्रस्तुतिकरण र छलफल कार्यक्रममार्फत संग्रहालय अभियानको थालनी गरियो । संग्रहालयको स्थापनाको दिनको रुपमा शुक्रबारलाई लिने गरी ३ बुँदे जैमिनी घोषणासमेत गरिएको छ ।
शुक्रबार जैमिनीको कुश्मीसेरामा आयोजित अभियानको थालनी कार्यक्रममा जिल्लाका अन्य पालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्यहरु, दलित समुदायका अगुवा, अधिकारकर्मी र राजनीतिक दलका अगुवाको उपस्थितिमा दलित संग्राहलय निर्माण गरेर देशकै नाम बागलुङबाट लेखिनुपर्ने धारणा राखे ।
जैमिनी नगरपालिका वडा नं.. ७ को जैदीमा संग्राहलय बनाइने भएको छ । वडाध्यक्ष केन्द्रबहादुर रसाइलीको अगुवाइमा केही समय अघिदेखि संग्राहलय बनाउने बहस चलेको थियो । गत चैतमा नगरपालिकाले आफ्नो अंगको रुपमा कार्यपालिकाले निर्णय गरेपछि गत असारमा नीति तथा कार्यक्रम र बजेटमा पनि संग्राहलयको योजना समावेश थियो । यो अभिायनलाई मूर्तरुप दिन शुक्रबारदेखि औपचारिक कामको थालनी भएको हो ।
कार्यक्रममा दलित संग्राहलय बनाउने मात्र नभइ दलित समुदायका विभिन्न जातिमा भएको सीप पुस्तान्तरण गर्ने र संरक्षण गर्ने विषयमा पनि सबै एकजुट भएका छन् । दलित र गैर दलितबीचको विभेद अन्त्य गर्ने, संग्राहलयलाई सबैले साझा र अपनत्व लिने समेत घोषणामा उल्लेख छ ।
जैमिनीमा पुगेका जनप्रतिनिधिहरुले देशकै पहिलो दलित संग्राहलय बन्न लागेकोले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । उनीहरुले दलीतहरु सीपमा धनी भएकोले हरेक नागरिकले उनीहरुको सीपबिना जीवन चलाउन अप्ठ्यारो परेको इतिहास संग्रहालयले सम्झाउने बताए । संग्रहालयलार्य अध्ययन अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरिने बताइएको छ ।
‘दलित समुदायको संस्कृति, कला र सीपलाई मात्र संग्रह गर्ने होइन, उनीहरुको इतिहास र संघर्ष पनि अध्ययन गर्ने स्थल बनाउँछौं,’ नगर प्रमुख नरबहादुर पुनले भने,‘देशभरका नागरिक अवलोकनक ालागि भएपनि आउने स्थान बनाउनु पर्छ ।’ भवन मात्र नभइ सिंगो अध्ययन केन्द्र बनाउने भएकोले नगरपालिकाले पहिलो चरणमा जग्गा व्यवस्थापन, डीपीआर र प्राविधिक काम गर्ने छ ।
आगामी आर्थिक वर्षसम्ममा उक्त काम सकेर सबै पालिका, प्रदेश र संघिय सरकारको सहयोगमा केन्द्रलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको हो । ‘यो आजको भोलि सकिने अभियान हैन, यो ठूलो अध्ययन केन्द्र वा विश्वविद्यालयस्तरको हुनेछ,’ उपप्रमुख शर्माले भने, ‘धैर्यता र मिहिनेतले हामीले दलित आन्दोलनको इतिहास रचना गरिनेछ ।’ वडा नं. ७ का अध्यक्ष केन्द्रबहादुर रसाइलीले बर्दिया घुम्दा थारु संग्रहालय देखेर दलित संग्राहलयको अवधारणा बनाएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, दलित अधिकारकर्मी टीकाकुमारी विश्वकर्मा, धु्रव परियार, ढाकाराम परियार, पूर्णमाया सुनार लगायतले बोलेका थिए । उक्त अवसरमा सीताराम रसाइली र सज्जनकुमार सिंहले अवधारणा पत्र प्रस्तुत गरे । नगरप्रमुख पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलको संचालन र कार्यपालिका सदस्य लालबहादुर परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





