पोखरा / गण्डकी प्रदेशसभाका ४ वटै विषयगत समितिले आफ्ना सभापति पाएका छन । काँग्रेस, एमाले र माओवादीले भागबण्डामा विषयगत समितिको सभापति टुंगो लगाएका छन् । शनिवार भएको विषयत समितिका सभापतिको निर्वाचनमा सवै समितिमा एकल उम्मेदवार परेपछि सर्वसम्मत भएको हो । सभापतिको उम्मेदवारको मनोनयन विहान ११ बजेदेखि ४ बजेसम्म तोकिएको थियो ।
प्रतिपक्ष दल नेकपा एमालेले भागवण्डामा सार्वजानिक लेखा समितिको सभापति पाएको छ । एमालेको तर्फबाट स्याङजाका सभासद सुधिर कुमार पौडेलले मनोनय दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा बागलुङका सभासद चम्फादेवी खड्का र अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्यालले मनोनयन दर्ता गरेका छन् ।
माओवादीको भागमा परेको सामाजिक विकास तथा कृषी समितिको सभापतिमा गोरखाका फणिन्द्र देवकोटाको उम्मेदवारी परेको छ । बाबुराम भट्टाराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता उनी माओवादीको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् । संसद सचिवालयका उपसचिव प्रेम सुवेदीका अनुसार ४ वटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । उनीहरुको आईतवार विहान सपथ हुने कार्यक्रम तय भएको छ ।





