बागलुङ/वडा अध्यक्ष छँदा गाँजाको भण्डारन गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साँढे तीन बर्ष जेल सजाय तोकेको छ । आइतवार उच्च अदालतका न्यायाधिस मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाय तोकेको हो ।
यस अघि ९ महिना अघि जिल्ला अदालत बागलुङले पनि घर्तीलाई ५० हजार जरिवाना र साँढे तीनबर्ष जेल सजाय तोकेको थियो । केही समय फरार भएर उच्च अदालतमा पुरनरावेदन गरेपछि मात्र घर्ती बाहिर निस्केका थिए । केही समय फरार भएर उनले गत पुसको हिउँदे गाउँपारिषद समेत ढीला सम्पन्न गरेका थिए । जिल्लाको फैसलापछि फरार घर्तीले उच्चमा पुनरावेदन गरेपछि राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागि बन्दै आएका थिए ।
२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका वडा नंं ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजा सहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनी बिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परे लगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए ।
धरौटीमा रिहा भएकोले उनले वडा अध्यक्षको काम नियमित रुपमा गरे । गत बर्ष गाउँपालिकाको अध्यक्ष पदमा पनि उनी उमेदवार भएका थिए । कांग्रेसबाट उमेदवार बन्दा उनी बिरुद्ध दाबीबिरोध परेको थियो । तर निर्वाचन आयोगले उनको उजुरी उपर कुनै कारवाही गरेन । पर्टी पंत्तीमा भने उनको उमेदवारीको बिरोध भएको थियो । अधिवक्ता भूमिश्वर गौतमले घर्ती सर्बोच्च अदालत जान पाउने अधिकार सुरक्षित भएको बताए । ‘सर्बोच्च जान पाउने भएपछि उनले पुनरावेदन गरेर फेरी काम गर्न पाउँछन्’ उनले भने, ‘जेल जानै पर्ने संभावना छैन ।’ गौतमले घर्तीको पक्षमा मुद्दा लडेका थिए । अर्का अधिवक्ता राम शर्माले अब उनी जेल जानुपर्ने बताए । ‘सूर्यबहादुर जी अब जेल जानुपर्छ’ शर्माले भने, ‘सर्बोच्चले अनुमति दिए मात्र माथी जाने अधिकार रहन्छ ।’





