बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले देशका लागि आँटिलो र दुरदर्शी नेताको आवश्यकता रहेको बताएका छन् । पार्टी संगठन र देश सञ्चालन गर्न दुरदर्शी नेता नेतृत्वमा नहुँदा लामो समय देशले दुख भोग्नुपरेको गुरुङले बताए । कम्युनिष्टहरुले नेतृत्व गरेका सरकारले मात्रै देशमा दुरगामी प्रभाव राख्ने खालका बिकास निर्माण र परिवर्तनका कामको सुरुवात गरेको भन्दै गुरुङले कम्युनिष्ट पार्टीहरुपनि लामो समय दुरदर्शी नेताकै अभाव झेलेर अल्झिएको बताए । अहिलेको सरकार कम्युनिष्टको नभई बुर्जुवाहरुको निर्देशनमा चल्ने गठबन्धन सरकार भएकाले यो सरकारले जनताको हितमा कुनैपनि काम गर्न नसक्ने उनको धारणा थियो ।
‘देशमा एमालेले उठाएका एजेण्डा स्थापित हुँदा मात्रै बिकास निर्माण र सामाजिक परिवर्तनले गति लिएको छ’ नेता गुरुङले भने ‘एमालेले पनि दुरदर्शी नेता पाउनका लागि लामो समय पर्खिनु पर्यो ।’ एमालेका नेता मदन भण्डारी र मोहनमोहन अधिकारी पछि केपी शर्मा ओलीको नेतृत्वले मात्रै पार्टी संगठन र देशको हितमा काम गरेको गुरुङले संकेत गरे ।
‘आठौं महाधिबेशनमा झलनाथ खनाल अध्यक्ष हुनुभयो तर पार्टी संगठन कमजोर भयो, नवौं महाधिबेशन पछि एमालेले दुरदर्शी नेता पायो, त्यसैले अहिले एमालेको संगठन कसैले हल्लाउन सक्दैन्, एमाले नेतृत्वको सरकारले गरेका कामसँग कसैले तुलना गर्न सक्दैन् ।’

नेकपा एमालेको गण्डकी प्रदेश अधिबेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापनका लागि एमाले बागलुङले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले पार्टीको आन्तरीक लोकतन्त्रका लागि निर्वाचन मार्फत नेतृत्व चयन गरेको दावी गरे । ‘पार्टीले चलाएको मिसन ग्रासरुट अभियानको निकर्ष पार्टीमा आन्तरीक लोकतन्त्र कमजोर भएको भन्ने थियो, अभियानको निष्कर्ष अनुसारनै प्रदेश अधिबेशन भए र चुनाव मार्फत नेतृत्व चयन भएको हो ।’ गुरुङले भने ।
उनले बलियो एमाले अहिलेको आवश्यकता भएको भन्दै पार्टी बलियो बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । जनआन्दोलनका उपलव्धीहरुमाथी धावा बोल्ने शक्तिहरु सलमलाईरहेको भन्दै गुरुङले गणतन्त्रको बिकल्प गणतन्त्रनै भएको जिकीर गरे ।
‘बच्चा नराम्रो जन्मियो भने गर्भमा फर्काउन सकिँदैन्, बरु जन्मेको बच्चालाई राम्रोसँग हुर्काउने हो’ उनले भने ‘राजतन्त्रको गर्भबाट जन्मेको गणतन्त्रले पु्ँजीबाद निर्माण भएको छ, अब समाजबादको स्थापना अहिलेको कार्यभार हो ।’ उनले पार्टीमा जिम्मेबारी पाएका र नपाएका सबैले एक मन एकताका साथ पार्टी निर्माण र २०८४ को निर्वाचन केन्द्रित भएर काम गर्न निर्देशन समेत दिए ।

नवनिर्वाचित नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले पार्टीले २०८४ सालमा एकल बुहमत ल्याउनेगरी आफू लाग्ने बताए । अध्यक्ष शर्माले जनता र कार्यकर्ताको मायाले प्रदेश अध्यक्षमा निर्वाचित भएको भन्दै संगठनलाई थप मजबुध बनाउदै अगाढी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिल बहादुरा थापा र एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीलाई कम्युनिष्ट आचारणमा अगाडि लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिमा निर्वाचित पदाधीकारीहरु अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मिन प्रसाद गुरुङ, सचिव धनन्जय दवाडी र उपसचिव मन्जु अधिकारी र बागलुङबाट निर्वाचित १८ जना सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण पुनले र सञ्चालन सचिव विष्णु भुषालले गरेका थिए ।





