बागलुङ/धौलागिरि अस्पतालमा मृगौला तथा कलेजो परीक्षण शिविर संचालन भएको छ । रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ बागलुङ र इन्ट्याक्ट क्लबसमेतको आयोजनामा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।
शिविरमा भक्तपुर स्थित केन्द्रबाट आएका बिशेषज्ञ डा. दिपा लामिछाने नेतृत्वको टोलीले शिविर संचालन गरेको हो । शिविरमा प्रारम्भिक चरणमो स्क्रिनिङ गरिनेछ । त्यसपछि जटिल समस्या भएमा अपरेशनलगायतको सेवाका लागि भक्तपुरमा बोलाइने छ । ११ वर्षअघि स्थापना भएको केन्द्रले अहिलेसम्म १ हजार १ सय जनाको मृगौला प्रत्यारोपण गरिसकेको जनाइएको छ । त्यस्तै कलेजो प्रत्यारोपणको काम पनि केन्द्रमा हुने गरेको छ ।
पछिल्लो समय अस्पतालमा मृगौलाको डायलायसिस गर्ने बिरामी बढेकोले शिविरले शंकास्पद बिरामीको बेलैमा पहिचान हुने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले बताए । शिविरका लागि आम नागरिकले चासो राख्न सकेमा धेरै फाइदा हुने भन्दै आगामी दिनमा पनि अस्पतालमा यस्ता प्रकारका शिविर संचालन गर्नुपर्ने बताए ।
रोटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरेको अध्यक्षता, सहसचिव निसान खड्काको संचालन र आगामी अध्यक्ष रामकृष्ण शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले महंगो रोगहरुबाट आम नागरिकलाई बचाउन शिविर संचालन भएकोले सबैको साथ र सहयोग हुनुपर्ने बताए । ‘यस्ता रोग लागेमा उपचार ज्यादै महंगो छ, त्यसैले रोग लाग्नै नदिने नै उत्तम उपाया हो,’ थापाले भने, ‘समयमा स्वास्थ्य परीक्षण गर्दा समस्याबाट बचिन्छ ।’ उनले ग्रामीण तहमा पनि यस्ता परीक्षण शिविरहरु संंचालन गर्न सुझाव दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, मृगौला प्रत्यारोपण गरेर सामान्य अवस्थामा आइपुगेकी बागलुङको काठेखोला गाउँपालिका–२ की बिमला मल्लले अनुभवसमेत बताएकी थिइन् । शिवर बिहिबार पनि संचालन हुनेछ । अस्पतालको नियमित सेवालाई असर नपर्ने गरी शिविर संचालन भएको हो ।





