पोखरा/पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा १३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहनेछ ।
पछिल्लो समय नगर क्षेत्रमा डेङ्गी लगायत मौसमी सङ्क्रमणहरूको जोखिम बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि फोहरको उचित व्यवस्थापन प्रति जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन् ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले सरसफाइ नागरिक चेतनाको विषयसँग जोडिएको बताए ।





