बागलुङ/ पसलमा राखिएका सामानमा एकादुइ म्याद सकिएका भेटिनु नौलो होइन । तर बानपा–१ को रुद्रेपिपल र कालिका मन्दिर अगाडिको उद्यानमा राखिएका पसल खाली हुने गरेर म्याद सकिएका सामान भेटिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, पर्यटन तथा उद्योग कार्यालय र उद्योग बाणिज्य संघको सामुहिक बजार अनुगमनमा ती सामान भेटिएका हुन् । रुद्रेपीपलदेखि कालिका मन्दिर जाने तर्फका केही पसल खाली हुने गरी म्याद नाघेका सामान भेटिएका हुन् ।
पेय तथा खाद्यपदार्थमा भेटिएका ती सामानको म्याद नाघेको देखेपछि ती पसलले ल्याउने होलसेलमा समेत अनुगमन गरिएको हो । बानपा–१ रामरेखास्थित शिव स्टोर्समा पुग्दा पनि पेय पदार्थको म्याद नाघेको भेटिएको बरालले जानकारी दिए । सामान्य रुपमा केही दिन म्याद नाघेकालाई फिर्ता गर्ने शर्तमा छाडिएको छ भने धेरै समय काटेका, जवरजस्ती राखिएका पसलमा जरिवाना पनि गरिएको हो ।
कालीका मन्दिर नजिकैको उद्यानमा चिया, समोसा लगायत बिक्री गर्ने पसलमा पनि सरसफाइ कम भएको तथा अखाद्य तेल प्रयोग भएको भेटिएको हो । अनुगमन टोलीले तेलको परीक्षण समेत गर्दा अखाद्य पाएपछि पकाइ राखेको समोसा र तेल नष्ट समेत गरिएको थियो । उक्त स्थानका आधादर्जन पसल दर्ताबिनै चलेको भेटिएपछि तत्काल दर्ता प्रक्रियामा लैजानपनि निर्देशन दिएको नगरपालिकाकी प्रतिनिधि सरस्वतीदेवी रेग्मीले बताइन् । साना चिया पसलहरु सामान्य १ हजारसम्मको दस्तुरमा दर्ता हुने उनको भनाइ छ ।
यसअघि चैतेदशैंमा गरिएको अनुगमनमा पनि ती पसल दर्ता गर्न भनिएकोमा अटेर गरेकोले तत्कालै नगरे जरिवाना गराउने उनले बताइन् । वडा नं. १ का अध्यक्ष जयबहादुर केसीले उनीहरुलाई दर्ता प्रक्रियामा लैजाने बताए ।





